काठमाडौं। परिमार्जन यादवको अर्धशतकसँगै मधेश प्रदेशले यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रो जित निकालेको छ।
वीरेन्द्रनगर क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा मधेशले कोशी प्रदेशविरुद्ध ६ विकेटले पराजित गरेको हो।
कोशीले दिएको ११६ रनको लक्ष्य मधेशले १३.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।
मधेशका कप्तान परिमार्जनले ५४ रनको इनिङ्स खेले। २९ बल खेलेका उनले ५ छक्का र ४ चौका प्रहार गरे। सुशान्त सिंह २३ र सन्तु मण्डलले अविजित १६ रन बनाए।
कोशीका कविराज खत्रीले सर्वाधिक २ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको कोशीले ४१.२ ओभरमा सबै विकेट गुमाउँदै ११५ रन बनाएको थियो।
कोशीका एलिश मण्डलले सर्वाधिक ३० रन बनाए। ५० बल खेलेका उनले ५ चौका प्रहार गरे। कप्तान शिवान्श बजगाईँ, सुगम बुढाथोकी र कविराज खत्रीले समान १३ रन बनाए। मधेशका अभय यादवले सर्वाधिक ४ विकेट लिए।