काठमाडौं। आशिष गुप्ताको अर्धशतकप्रेरित बागमती प्रदेशले यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा शनिबार दोस्रो जित दर्ता गरेको छ। बागमतीले मधेश प्रदेशलाई ३७ रनले पराजित गरेको हो।
जितसँगै बागमतीले ३ खेलबाट ४ अंक पुर्याएको छ। लगातार दोस्रो हार बेहोरेको मधेशको ४ खेलबाट ४ अंक नै जोडेको छ।
विरेन्द्रनगर क्रिकेट मैदानमा बागमतीले दिएको २४९ रनको लक्ष्य पछ्याएको मधेश ३६.४ ओभरमा २११ रनमा समेटियो। मधेशका प्रमञ्जन यादवले सर्वाधिक ३५ रन बनाए। आयन मुखियाले ३३ रनको योगदान दिए।
बागमतीका कप्तान प्रसिद्ध जैसी, रोहित ठाकुर, सुशील साउद र शिवशक्ति महतोले समान दुई विकेट लिए। त्यसअघि ब्याटिङ थालेको बागमतीले ४६.५ ओभरमा सबै विकेट गुमाउँदै २४८ रन बनाएको थियो।
बागमतीका आशिष गुप्ताले सर्वाधिक ५३ रन बनाए। ओपनर सूर्यान्शु कोइराला ४९ र राजेश बोहोरा ४६ रनमा आउट भए।
मधेशका अभय यादवले सर्वाधिक ५ विकेट लिए।