काठमाडौं। एक वर्षअघि शीर्षक्रमका ब्याटर कश्यप प्रजापति आफ्नै सपना पूरा गर्दै थिए– क्यारिबियनमा भएको आइसिसी पुरुष टी–२० विश्वकपमा अस्ट्रेलिया र इङ्ल्यान्डजस्ता ठूला टिमसँग खेल्दै।
ओमानले प्रतियोगितामा कुनै जित हात पार्न सकेन। प्रजापतिको व्यक्तिगत प्रदर्शन पनि औसतमै सीमित रह्यो। तर, त्यस्तो ठूलो अन्तर्राष्ट्रिय मञ्च ओमानका लागि यो दुर्लभ अवसर थियो।
त्यो प्रजापतिको दोस्रो टी–२० विश्वकप थियो। उनले २०२१ मा घरेलु भूमिमा सह–आयोजन भएको संस्करणमा पनि खेलेका थिए। ओमानका लागि समग्रमा विश्वकप यो तेस्रो सहभागिता थियो।
एक वर्ष बित्न नपाउँदै अहिले प्रजापति अमेरिका पुगेका छन्। करियर र भविष्य जोगाउन। उनी एक विवादास्पद र अझै समाधान नभएको पारिश्रमिक विवादका कारण ओमानबाट पलायन भएका हुन्। टी–२० विश्वकपबाट पाउनुपर्ने पुरस्कार रकम अहिलेसम्म नपाएपछि उनी यो कदम चल्न बाध्य भएका हुन्।
उनी मात्र होइनन्, त्यो प्रतियोगिता खेलेको ओमानका झन्डै पूरै खेलाडी अहिले टोलीबाट बाहिरिइसकेका छन्। अझ धेरै खेलाडीले त देशै छाडिसकेका छन्।
यो स्थिति अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले विश्वकप खेल्ने बोर्डलाई छुट्याएको २ लाख २५ हजार अमेरिकी डलर पुरस्कार रकम ओमान क्रिकेटले खेलाडीलाई नदिएको कारण उत्पन्न भएको हो।
आइसिसीले सन् २०२४ को टी–२० विश्वकपमा कुल १ करोड १२ लाख ५० हजार डलर पुरस्कार रकम घोषणा गरेको थियो, जुन ऐतिहासिक रूपमा सबैभन्दा ठूलो थियो। त्यसमा विजेता भारतले २४ लाख ५० हजार डलर पायो।
तर, वर्ल्ड क्रिकेर्ट्स एशोसिएसन (डब्युसिए) का अनुसार त्यस प्रतियोगितामा सहभागी धेरै बोर्डले अझैसम्म आइसिसीबाट प्राप्त रकम खेलाडीहरूलाई वितरण गरेको छैनन्। त्यसको उदाहरण हो, ओमान। ओमानले एक डलर पनि खेलाडीहरूलाई दिएको छैन।
‘यो विषयले हाम्रो जीवन अस्तव्यस्त बनाइदियो। हामीले टोलीमा आफ्नो स्थान गुमायौं। हाम्रो करार च्यातियो र हामी देश छाड्न बाध्य भयौं,’ प्रजापतीले भने।
आइसिसीको नियमअनुसार प्रतियोगिता सकिएको २१ दिनभित्र सम्पूर्ण पुरस्कार रकम खेलाडीहरूलाई वितरण गरिसक्नुपर्नेछ। यो रकम ओमान क्रिकेटलाई पठाइसकेको आइसिसीको दाबी छ। तर, अहिलेसम्म त्यो रकम खेलाडीमाझ भने पुगेको छैन।
‘हामीले पाउनुपर्ने रकम किन पाइरहेका छैनौं भन्ने कुरा बुझ्न सकिरहेका छैनौं। आइसिसीले किन खेलाडीहरूलाई सुरक्षित रूपमा आवाज उठाउने थलो बनाउन सकेको छैन?,’ प्रजापती भन्छन्।
दुईपल्ट विश्वकप खेलिसक्दा पनि प्रजापतिलाई यसरी पुरस्कार रकम पाइन्छ भन्ने थाहा नै थिएन। उनले सञ्चार माध्यममा चर्चाबाट मात्रै पुरस्कार रकमबारे थाहा पाएका हुन्। २०२१ को संस्करणमा पनि उनले यस्तो पुरस्कार रकम पाएका थिएनन्। अझ त्यसबारे जानकारी नै थिएन।
प्रजापति र अन्य दुई खेलाडीले ओमान बोर्डमा धेरैपटक यो मुद्दा उठाए। पहिलो पटक क्यानडामा भएको त्रिकोणात्मक सिरिजमा यो कुरा उठेको थियो।
उक्त सिरिजमा नेपाल र क्यानडाका खेलाडीले आफ्नो बोर्डबाट केही पुरस्कार रकम पाएको प्रजापतिलाई सुनाएका थिए। त्यसपछि ओमानका खेलाडीहरूले पनि पुरस्कार रकम पाउनुपर्ने आवाज बोर्डसामु उठाए। तर, व्यवस्थापनले ‘अहिले खेलमा ध्यान देऊ, यो विषय हेर्दै छौं’ भन्दै खेलाडीलाई पन्छाउन खोज्यो।
पछि अक्टोबरमा ओमानमै भएको टी–२० इमर्जिङ टिम्स एसिया कपको अघिल्लो अभ्यासका क्रममा खेलाडीहरूले सामूहिक रूपमा एकजुट भएर मुद्दा उठाउने निधो गरे। खेल्नै अस्वीकार गर्ने चेतावनी दिए। त्यसपछि बोर्डले धम्की दिन थाल्यो, यदि खेल्न नमान्ने हो भने नयाँ टोली उतार्छौं।
अन्ततः सिनियर खेलाडीहरूलाई होटलबाट नै ‘ब्याग प्याक’ गरेर बाहिरिन आदेश दिइयो। प्रतियोगिताको पहिलो खेलमा हेर्दा अघिल्लो टोलीका जम्मा ५ खेलाडी मात्र थिए।
चार हप्ताअघिको खेलमा रहेका अधिकांश खेलाडी टोलीमै थिएनन्। धेरै खेलाडी अन्ततः देश छाड्न बाध्य भए। खाडी मुलुकहरूमा रोजगारसँगै आवास अनुमति जोडिएको हुन्छ। केन्द्रीय सम्झौता गुमाएपछि केही खेलाडी ओमानमै बस्न सकेनन्।
ओमानका फैयाज बटले भने, ‘मेरो खेल जीवन र करिअरका लागि ठूलो क्षति भयो। अहिले म बेरोजगार छु। भविष्य खोज्दैछु, तर हाम्रो खेल जीवन सकिएको छ।’
ओमानमा खेलाडीहरूको कुनै संघ छैन। क्यानडा र नेपालका खेलाडीबाट डब्युसिएको बारेमा थाहा पाएपछि मात्र उनीहरूले दबिएको आवाज उठाउन थालेका हुन्। धेरै एसोसिएट मुलुकका बोर्डहरूले खेलाडीलाई आफूले बाँडफाँड गर्नुपर्ने पुरस्कारबारे जानकारी नै दिँदैनन्।
आइसिसीले प्रक्रिया सुधार्न खोजे पनि ठोस कार्यविधि नहुँदा बोर्डहरूलाई सजाय दिन नसकेको डब्युसिएले जनाएको छ। डब्युसिए प्रमुख टम मोफाट भन्छन्,’खेलाडीहरू अन्तर्राष्ट्रिय क्रिकेटमै टिकाउन चाहिएको अवस्थामा यस्ता भुक्तानी नपाउने समस्याले समग्र खेलकै छवि बिगार्छ। समाधान सरल छन्, तर अझै केही बोर्डहरू पुरानै व्यवहार दोहोराइरहेका छन्।’
यो मुद्दाको समाधान नभएसम्म ओमानका सिनियर खेलाडीहरू अन्यत्र भविष्य खोज्न बाध्य छन्। आइसिसी र डब्युसिएले केही सुधार गर्ने प्रयास गरे पनि अझै प्रणालीगत कमजोरी कायमै रहने देखिएको छ।