काठमाडौं। रोशन शाहीको अलराउन्ड प्रदर्शनसँगै कर्णाली प्रदेशले यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता शुक्रबार लगातार दोस्रो जित निकालेको छ।
कर्णालीले बागमती प्रदेशविरुद्ध ३ विकेटको जित निकालेको हो। जितसँगै कर्णालीले ३ खेलमा ४ अंक जोडेको छ। एक खेल कम खेलेको बागमतीको भने २ अंक छ।
बागमतीले दिएको २३८ रनको लक्ष्य पछ्याएको कर्णालीले ३९ ओभरमा ७ विकेट गुमाउँदै २४१ रन बनायो।
कर्णाली रोशनले अविजित रहँदै सर्वाधिक ६९ रन बनाए। ६५ बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरे। भुपेन्द्रजंग शाहीले ६७ रन को योगदान दिए।
कश्तुप खड्का ३९, विजय बोहरा १४ र नमनसिंह थापा १३ रनमा आउट भए।
बागमतीका रोमन भट्टराई र प्रशिद्ध जैशीले समान दुई विकेट लिए। त्यसअघि पहिला ब्याटिङ थालेको बागमतीले ४७.५ ओभरमा सबै विकेट गुमाउँदै २३८ रन बनाएको थियो।
बागमतीका जोय थापाले सर्वाधिक ७२ रन बनाए। १०१ बल खेलेका उनले ९ चौका प्रहार गरे। शिवशक्ति महतो ४६ र सूर्यान्शु कोइराला ४० रनमा आउट भए।
कर्णालीका कैलाश खड्काले सर्वाधिक ४ विकेट लिए। रोशन शाहीले थप ३ विकेट लिए।