काठमाडौं। अलिश मण्डलको सानदार ब्याटिङसँगै कोशी प्रदेशले यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता शुक्रबार दोस्रो जित निकालेको छ।
कोशीले लुम्बिनी प्रदेशविरुद्ध २१ रनको जित निकालेको हो। जितसँगै कोशीले ३ खेलमा ४ अंक जोडेको छ। लुम्बिनीको भने पहिलो हार हो। लुम्बिनीको २ खेलबाट २ अंक छ।
कोशीले दिएको १८२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ३४.३ ओभरमा सबै विकेट गुमाउँदै १६० रन बनायो।
लुम्बिनीका रैनक श्रीवास्तवले लगालग उत्कृष्ट ब्याटिङ गरे पनि जित दिलाउन सकेनन्। ७२ बल खेलेका उनले ९ चौकासहित ६६ रन बनाए। आरिफ खान ५० रनमा आउट हुँदा अन्यको ब्याट चल्न सकेन।
कोशीका सुयोग भट्टराईले सर्वाधिक ३ विकेट लिए। त्यसअघि पहिला ब्याटिङ थालेको कोशीले ४९ ओभरमा सबै विकेट गुमाउँदै १८१ रन बनाएको थियो।
कोशीका अलिशले सर्वाधिक ६० रन बनाए। ९४ बल खेलेका उनले १० चौका प्रहार गरे। रविन मण्डल ३९ र सुगम बूढाथोकीले १६ रनको योगदान दिए।
लुम्बिनीका लक्ष्मण कुमालले सर्वाधिक ४ विकेट लिए।