काठमाडौं। अभय यादवको सानदार बलिङसँगै मधेश प्रदेशले यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार लगातार दोस्रो जित हासिल गरेको छ।
मधेशले गण्डकी प्रदेशविरुद्ध पाँच विकेटको सहज जित निकालेको छ। जितसँगै मधेशले दुई खेलमा चार अंक जोडेको छ। लगातार दोस्रो हार बेहोरेको गण्डकी अंकविहीन छ।
गण्डकीले दिएको १०५ रनको लक्ष्य मधेशले १४.१ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो। मधेशका सुशान्त सिंहले सर्वाधिक २५ रन बनाए। शेख अर्मानले अविजित २३, माही यादवले १३ र नुमइर अहमदले १० रन बनाए।
गण्डकीका राज परियारले सर्वाधिक तीन विकेट लिए। अनिश राउत र कप्तान सुप्रिम सुनारले एक विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङ रोजेको गण्डकीले ३२.४ ओभरमा सबै विकेट गुमाउँदै १०४ रन बनाएको थियो।
गण्डकीका रोज श्रेष्ठले सर्वाधिक २० रन बनाए। रमित कँडेलले १५, विनायक कार्कीले १४, सुप्रिम सुनारले ११ र करण गैरेले अविजित १० रन बनाए।
मधेशका अभय यादवले ८.२ ओभरमा १९ रन खर्चिएर सर्वाधिक सात विकेट लिए। धीरेन्द्र पासवानले दुई र नुमइर अहमदले एक विकेट लिए।