पथरी। आयोजक कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिले प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधिजितेको छ। मंगलबार सम्पन्न रोमाञ्चक फाइनलमा आयोजक टिमले डाँस मोरङी क्लबलाई ४ विकेटले पराजित गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको डाँस मोरङी क्लबले १८ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १२१ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो। डाँसका उमर सानीले सर्वाधिक ३२ रन बनाए। रोहित राजवंशीले २२, प्रदीप मण्डलले १७ र दीपेश सुवेदीले १६ रनको योगदान दिए।
बलिङतर्फ आयोजक टिमका सुरज न्यौपानेले सर्वाधिक ३ विकेट लिए। मोहम्मद निशार र ज्ञानेन्द्र श्रेष्ठले समान २/२ विकेट तथा अभी लिम्बू र नितेश साहनीले १/१ विकेट लिए।
१२२ रनको लक्ष्य आयोजक टिमले १९ ओभर १ बलमा ६ विकेटको क्षतीमा पूरा गर्यो। जितमा सोनु मण्डलको ३६ रन, विजय घिमिरेको २९ रन र सुरज न्यौपानेको १७ रन महत्त्वपूर्ण रहे। डाँसका आरके मण्डलले ३ विकेट विकेट लिए। प्रदीप मण्डलले २ विकेट लिए।
व्यक्तिगत विधामा पनि आयोजक टिमको वर्चस्व
प्रतियोगिताको उत्कृष्ट खेलाडी आयोजक टिमका सुरज न्यौपाने घोषित भए। उनी फाइनलमा समेत म्यान अफ द म्याच घोषित भए। उत्कृष्ट ब्याटरको उपाधि सोनु मण्डलले पाउँदा उत्कृष्ट बलर डाँसका उमर सानी घोषित भए। उदीयमान खेलाडीको रूपमा पथरीशनिश्चरे क्रिकेट क्लबका अभिषेक बिक बाला छनोट भए।
विजेता टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी प्राप्त गर्यो भने उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार पायो। मौसमको कारण आइतबार तय गरिएको फाइनल खेल मंगलबार सम्पन्न गरिएको हो। प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको थियो।