पथरी। पथरीशनिश्चरे क्रिकेट क्लब प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
बिहीबार सम्पन्न पहिलो क्वार्टरफाइनलमा पथरीशनिश्चरेलेले दमक क्रिकेट क्लबलाई १५ रनले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो।
पथरीशनिश्चरेले टस हारेर पहिले ब्याटिङ गर्दै १९ ओभर दुई बलमा सबै विकेट गुमाउँदै १३८ रनको चुनौती प्रस्तुत गरेको थियो। पथरीका एन्जल राईले उत्कृष्ट प्रदर्शन गर्दै ४५ रन बनाए। योगेश श्रेष्ठले २२, अश्मिन महतले १७ र सोलोमन राईले १६ रनको योगदान दिए।
दमकका सञ्जीव भडौयाले तीन विकेट लिए। प्रदीप बक्सर, अनीश खड्का र किरण गौतमले समान दुई विकेट हात पारे। १३९ रनको लक्ष्य लिएर मैदान उत्रिएको दमक क्रिकेट क्लबले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो।
दमकका प्रदीपले अर्धशतक पूरा गरे पनि जित दिलाउन असफल भए। त्यस्तै, सञ्जीव २६ र विजय तामाङ १५ रनमा सीमित भए पथरीशनिश्चरेका अभिषेक विक बाला र सुदीप चौधरीले समान दुई विकेट लिए।
नेल्सन दंगाल र दीपेश भण्डारीले समान एक विकेट झारे। दमकका तीन जना ब्याट्सम्यान रन आउट भएका थिए। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका पथरीका एन्जल राई म्यान अफ द म्याच घोषित भए।
शुक्रबार नै हुने दुवै सेमिफाइनलमा कञ्चनजंघा क्रिकेट क्लब र पथरीशनिश्चरे क्रिकेट क्लबबीच तथा डाँस मोरङी क्रिकेट क्लब र ब्रदर्स इलाभेनबीच प्रतिस्पर्धा हुनेछ।