स्टार कप्तान जितेश

काठमाडौं। रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तानका रूपमा जिम्मेवारी सम्हालिरहेका जितेश शर्मा पहिलोपटक ड्रेसिङ रुममा विराट कोहली, भुवनेश्वर कुमारजस्ता स्टार खेलाडीहलाई देख्दा छक्क पर्थे।
उनलाई यी खेलाडीसामु आफू कोही नभएकोजस्तो सामान्य लाग्थ्यो। तर, मंगलबार उनले ८५ रनको अविजित इनिङ्स खेल्दै आफू पनि ती खेलाडीको बराबरीमा स्थान पाउन योग्य रहेको प्रमाणित गरे।
लखनऊ सुपर जायन्ट्सविरुद्धको लिगचरणको अन्तिम खेलमा बैंग्लोरले २२८ रनको लक्ष्य चार विकेट गुमाएर पूरा गर्दै ऐतिहासिक जित निकाल्यो। यो सँगै बैंग्लोर आइपिएल इतिहासमै लिग चरणका सबै सात ‘अवे’ खेल जित्ने पहिलो टोली बन्न सफल भयो।
अब बैंग्लोरले सिधै फाइनलमा स्थान बनाउन बिहीबार मोल्लानपुरमा हुने पहिलो क्वालिफायरमा पञ्जाब किंग्सलाई चुनौती प्रस्तुत गर्नेछ। नियमित कप्तान रजत पाटीदार घाइते छन्। उनको अनुपस्थितिमा कप्तानी सम्हालिरहेका जितेशले आफ्नो ब्याटिङले विराट कोहलीको ५४ रनको इनिङ्स र लखनऊका कप्तान ऋषभ पन्तको सानदार शतकलाई पनि ओझेलमा पारे।
‘दबाब र जिम्मेवारीले गर्दा मलाई खेलको क्रममा क्र्याम्पसमेत भएको थियो,’ ३१ वर्षीय जितेशले खेलपछि मुस्काउँदै भने,‘यो एक ठूलो फ्रेन्चाइज हो। म यो दबाबको मज्जा लिँदैछु।’
विराट र भुवनेश्वरलाई देख्दा उनलाई दबाब महसुस हुन्छ। त्योसँगै खुसी पनि। यो किनभने उनले यी स्टार खेलाडीसँग एकै ड्रेसिङ रूम सेयर गर्न पाएका छन्। त्यसैले उनले उक्त दबाबलाई रमाइलोका रूपमा लिन सिकिरहेका छन्।
विराट आउट हुँदा बैंग्लोरको स्कोर १२३–४ थियो। तर, जितेश टिकिरहे र आठ बल बाँकी छँदै टोलीलाई जित दिलाए। उनले आफ्नो प्रदर्शनको श्रेय मार्गदर्शक दिनेश कार्तिकलाई दिन्छन्।
‘मेरो मेन्टर दिनेश कार्तिकले जहिल्यौं अन्तिमसम्म टिक्न सक्यौं भने खेल पनि समाप्त गर्न सक्छौं भनेर हौसला दिनुहुन्छ। मलाई मेरो भूमिकाबारे सम्झाइरहनु हुन्छ। त्यसैले ठूलो श्रेय उहाँलाई जान्छ,’ उनले भने।
अब बिहीबारको विजेता टोलीले मंगलबार अहमदाबादमा हुने फाइनलमा स्थान बनाउनेछ। हार्ने टोलीले भने शुक्रबारको इलिमिनेटर विजेता (गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबीच) सँग खेल्दै फाइनल पुग्ने अर्को मौका पाउनेछ।







-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)




-1765539955299.jpeg&w=3840&q=75)
