काठमाडौं। रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासमा तेस्रो सबैभन्दा ठूलो लक्ष्य पछ्याउँदै क्वालिफायर–१ मा स्थान बनाएको छ।
सिजनको अन्तिम लिग खेलमा टोलीले लखनऊ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गर्यो। एकाना रंगशालामा भएको यो जितसँगै बैंग्लोरले जारी सिजनको अंक तालिकामा दोस्रो स्थान हासिल गरेको छ। अब टोलीले मे २९ मा पञ्जाब किंग्ससँग क्वालिफायर–१ खेल्नेछ।
बैंग्लोरले आइपिएलमा सबैभन्दा ठूलो लक्ष्य पछ्याएको छ। टोलीले २२८ रनको लक्ष्य १८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। बैंग्लोरका कप्तान जितेश शर्माले ३३ बलमा अविजित ८५ रन बनाए।
मयंक अग्रवालले २३ बलमा ४१ रनको अविजित इनिङ्स खेले। दुवैले १०७ रनको साझेदारी गरे। विराट कोहलीले ५४ रन बनाए। कोहलीले यस सिजनमा आफ्नो आठौं अर्धशतक र समग्रमा ६३औं आइपिएल अर्धशतक बनाएका छन्। उनले आइपिएलमा सबैभन्दा धेरै अर्धशतक बनाउने डेभिड वार्नरको रेकर्ड (६२ अर्धशतक) तोडेका छन्।
बैंग्लोरले टस जितेर बलिङ रोजेको थियो। लखनउले २० ओभरमा तीन विकेट गुमाएर २२७ रन बनायो। कप्तान ऋषभ पन्तले ६१ बलमा ११८ रनको अविजित इनिङ्स खेले। उनले ११ चौका र ८ छक्का प्रहार गरे। मिचेल मार्श (६७ रन) ले पनि अर्धशतक बनाए।