पञ्जाब क्वालिफायर–१ मा

काठमाडौं। पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को क्वालिफायर–१ मा आफ्नो स्थान सुरक्षित गरेको छ।
पञ्जाबले सोमबार मुम्बई इन्डियन्स लाई ७ विकेटले पराजित गरेको हो। यससँगै टोलीले यस सिजनमा अंक तालिकाको शीर्ष–२ मा आफ्नो स्थान सुरक्षित गरेको छ।
हाल टोली १९ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। पञ्जाबले अब मे २९ मा क्वालिफायर–१ खेल्नेछ। अर्कोतर्फ मुम्बईले मे ३० मा इलिमिनेटर खेल्नुपर्नेछ।
मुम्बईले चौथो स्थानमा छ। एमआईले १४ खेलमा १६ अंक मात्र पुर्याउन सकेको छ। जयपुरको सवाई मानसिंह रंगशालामा पञ्जाबले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो।
मुम्बईले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनायो। १८५ रनको लक्ष्य पञ्जाबले १८.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। कप्तान श्रेयस अय्यरले ट्रेन्ट बोल्टको बलमा छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए।
उनी १६ बलमा २६ रन बनाएर अविजित फर्किए। जोश इन्ग्लिस (७३ रन) र प्रियांश आर्य (६२ रन) ले अर्धशतक प्रहार गरे। दुवैले शतकीय साझेदारी गरे। मिचेल स्यान्टनरले दुई विकेट लिए। जसप्रीत बुमराहले एक विकेट लिए।
मुम्बईका सूर्यकुमार यादवले ३९ बलमा ५७ रनको इनिङ्स खेले। उनले ६ चौका र २ छक्का प्रहार गरे। बाँकी ब्याटरले ३० रनको आँकडा पार गर्न सकेनन्। पञ्जाबका अर्शदीप सिंह, मार्को जानसेन र विजयकुमार वैशाखले २–२ विकेट लिए ।
















