पथरी, मोरङ। आयोजक कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समिति र ढुकुरपानी क्रिकेट क्लबले प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगितामा सोमबार जित हासिल गरेका छन्।
सलकपुर क्रिकेट क्लबलाई आयोजकले १४३ रनले पराजित गरेको हो। टस जितेर पहिला ब्याटिङ रोजेको आयोजकले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २६३ रनको विशाल योगफल तयार गरेको थियो।
टिमका सुरज न्यौपानेले ५१ बलमा १०८ रनको शतकीय इनिङ्स खेले। उनले सानदार ब्याटिङ गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याए। यस्तै, सोनु मण्डलले अविजित ६८, महेश कार्कीले ४० र शिवम यादवले ११ रन बनाए। सलकपुरका दीपेश राउत, निशान मगर र असीम सुन्दासले समान १/१ विकेट लिए।
लक्ष्य भेटाउन मैदानमा ओर्लिएको सलकपुर १५ ओभर ४ बलमा अलआउट हुँदै १२१ रनमै समेटियो। सलकपुरका अनिश श्रेष्ठले ३६, ज्ञातव्य सुबेदीले २७ र श्रमण यादवले १९ रन बनाए।
आयोजक टोलीका शिवम यादव, अभिषेक लिम्बू र रावण राईले समान २/२ विकेट लिए भने सुरज न्यौपाने, मोहम्मद नूरी निशार र याम तिम्सिनाले १/१ विकेट लिए। उत्कृष्ट प्रदर्शन गरेका आयोजकका सुरज न्यौपाने ‘म्यान अफ द म्याच’ घोषित भए।
दोस्रो खेलमा ढुकुरपानी क्रिकेट क्लब, झापा विजयी भएको छ। झापाली टोलीले दुर्गा पुरी क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो।
टस जितेर पहिला ब्याटिङ गरेको दुर्गा पुरीले १४ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ९५ रन बनायो। दुर्गा पुरीका लागि अमित राईले २४, मंगलसिंह लिम्बूले १८ र समीर भट्टराईले ११ रनको योगदान गरे।
ढुकुरपानीका बलर प्रभावशाली देखिए। दीपेश दाहाल र रवीन यादवले समान ३/३ विकेट लिए भने प्रतीक पोखरेल, महेश दाहाल र प्रशान्त यादवले समान १/१ विकेट लिए।
९६ रनको लक्ष्य पछ्याएको ढुकुरपानीले १२ ओभर १ बलमा ८ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। जितका लागि उत्सव यादवले ४५ रनको सशक्त पारी खेले भने दीपेश दाहालले १७ रन बनाए।
दुर्गा पुरीका बलर पनि आक्रामक थिए। राजकुमार शहनी, आकाश खड्का, सुजन लिम्बू र सुमन लिम्बूले समान २/२ विकेट लिए। अलराउन्डर प्रदर्शन गरेका ढुकुरपानीका दीपेश दाहाल ‘म्यान अफ द म्याच’ घोषित भए।