काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा ग्लोसेस्टरशायरविरुद्ध सानदार जित हात पारेको छ।
बिहीबार सम्पन्न खेलमा नेपाल ७३ रनले विजयी भएको हो। बेलायत भ्रमणमा नेपालको यो लगातार तेस्रो जित हो। यसअघि नेपालले न्युपोर्ट क्रिकेट क्लब र मेरिलेबोन क्रिकेट क्लबलाई पराजित गरेको थियो।
नेपालले दिएको १९५ रनको लक्ष्य पछ्याएको ग्लोसेस्टरशायर १७.३ ओभरमा १२१ रनमा समेटियो। ग्लोसेस्टरशायरका जेम्स मात्राभर्सले सर्वाधिक ३७ रन बनाए। अन्य ब्याटरले भने बलियो इनिङ्स खेल्न सकेनन्।
नेपालका नन्दन यादव, सन्दीप लामिछाने र बसिीर अहमदले समान दुई विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १९४ रन बनाएको थियो।
नेपालका कुशल भुर्तेलले सर्वाधिक ४६ रन बनाए। कप्तान रोहितकुमार पौडेल ३५, दीपेन्द्रसिंह ऐरी ३२, अनिलकुमार साह २९ रन र आरिफ शेखले अविजित २२ रन बनाए।
ग्लोसेस्टरशायरका डेभिड पेन र अमन राओले समान दुई विकेट लिए।