पथरी। प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु हुने भएको छ। मोरङको पथरीशनिश्चरे–१० स्थित जिरीखिम्ती खेलमैदानमा प्रतियोगिता शनिबारदेखि १८ गतेसम्म सञ्चालन हुन लागेको हो।
कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समूहको आयोजनामा हुने टी–२० फर्म्याटको प्रतियोगितामा झापा, मोरङ र सुनसरी जिल्लाका १६ वटा क्रिकेट टोली सहभागी हुनेछन्। प्रतियोगितामा दैनिक दुई खेल सञ्चालन गरिनेछ।
प्रतियोगिताको विजेता टोलीलाई नगद ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ। उपविजेताले ३३ हजार ३३३ रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डर, उदयमान खेलाडी तथा सर्वश्रेष्ठ खेलाडीलाई पनि नगदसहित ट्रफीबाट पुरस्कृत गरिनेछ।
प्रतियोगिताको उद्घाटन भव्य समारोहसहित जेठ १० गते गरिने आयोजकले जनाएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा समूहका सचिव प्रेम केडीले प्रतियोगिता आयोजनाबारे जानकारी गराएका थिए।
कार्यक्रममा आयोजक टोलीको जर्सीसमेत सार्वजनिक गरिएको थियो। प्रतियोगिता सञ्चालनका लागि तीन लाख ५० हजार रुपैयाँभन्दा बढी खर्च हुने समूहका अध्यक्ष सागर थापाले जानकारी दिए।