काठमाडौं। बंगलादेशले फेरि पनि एसोसिएट राष्ट्र संयुक्त अरब इमिरेट्स (युएई) सँग लज्जास्पद हार बेहोर्दै तीन खेलको टी–२० सिरिज २–१ ले गुमाएको छ।
बुधबार शारजाह क्रिकेट स्टेडियममा भएको निर्णायक तथा अन्तिम खेलमा बंगलादेश सात विकेटले पराजित भएको हो। योसँगै युएईले ऐतिहासिक जित हात पार्यो।
पहिलो खेल २७ रनले जितेको बंगलादेशले दोस्रो खेल दुई विकेटले गुमाएको थियो। तेस्रो खेल प्रारम्भिक तालिकामा थिएन। तर, पछि बंगलादेश क्रिकेट बोर्डको प्रस्तावमा थप गरिएको हो।
बुधबारको खेलमा अलिशान शराफु (अविजित ६५) र आसिफ खान (अविजित ४५)को उत्कृष्ट ब्याटिङले युएईलाई पाँच बल बाँकी छँदै सात विकेटको सहज जित दिलायो।
बंगलादेशका लागि शोरीफुल इस्लाम, तन्जिम साकिब र रिशाद हुसैनले समान एक–एक विकेट लिए। तर, युएईको आक्रामक खेलसामु यी बलर निरीह देखिए।
टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेश १४ ओभरमै आठ विकेट गुमाएर ८४ रनमा थियो। तर, जाकर अली अनिक (३४ बलमा ४१ रन) र हसन महमुदले ४४ रनको नवौ| विकेट साझेदारी गर्दै टोलीलाई १६२–९ सम्म पुर्याए।
पछिल्ला १० बलमा हसन र शोरीफुलले ३४ रन जोडे। अन्तिम ओभरमा मात्रै २६ रन आएको थियो। हसनले अविजित रहँदै १५ बलमा २६ रन बनाए। शोरीफुलले सात बलमा १६ रन बनाए।
युएईका बलर हैदर अलीले चार ओभरमा सात रन दिँदै तीन विकेट लिए। उनले लिटन दास (१४), तौहिद हृदोय (शून्य) र माहेदी हसन (दुई) लाई आउट गरे। ध्रुव परासरले पहिलो ब्रेकथ्रु दिँदै इमोनलाई गोल्डेन डकमा आउट गरे।
बंगलादेशका तन्जिद हसन तमीमले १८ बलमा ४० रन बनाए। तर, अन्य टप–अर्डर ब्याट्सम्यानले खास योगदान दिन सकेनन्।
युएईका लागि यो जित ऐतिहासिक बन्यो। युएईले यसअघि टेस्ट मान्यता प्राप्त टोलीविरुद्ध पहिलो टी–२० सिरिज जित कहिल्यै हासिल गरेको थिएन। बंगलादेश टी–२० वरीयतामा नवौं स्थानमा छ भने युएई १५औं स्थानमा छ।
युएईले यसअघि बंगलादेशसँग खेलेका चारवटा टी–२० मा सबै हारेको थियो। तर, दोस्रो खेलमा दुई विकेटको जितले नयाँ इतिहास रच्यो र तेस्रो खेल जितेर त्यो इतिहासमा सुनौलो अध्याय थप्यो।