काठमाडौं। घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) ले दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा बंगलादेशलाई दुई विकेटले हराउँदै ऐतिहासिक जित हात पारेको छ।
२०५ रनको विशाल लक्ष्य पछ्याएको युएईले अन्तिम बल बाँकी रहँदा आठ विकेट गुमाउँदै खेल जितेको हो। यो बंगलादेशविरुद्ध युएईको पहिलो टी–२० अन्तर्राष्ट्रिय जित हो।
कप्तान मुहम्मद वसीमको ८२ रनको विस्फोटक इनिङ्स (४२ बलमा ९ चौका र ५ छक्का) युएईको जितको मेरुदण्ड बन्यो। तर, वसीम आउट हुँदा लक्ष्य पुग्न अझै ५८ रन बाँकी थियो। त्यसपछि युएईका तल्लोक्रमका ब्याटरहरूले असाधारण धैर्यता र आक्रमकता देखाए।
सातौं नम्बरदेखि तलका सबै ब्याटरले कम्तिमा एक छक्का प्रहार गरे। अन्तिम ओभरमा ध्रुव पराशरले संयम देखाए भने हैदर अलीले दोस्रो अन्तिम बलमा विजयी रन बनाए।
यद्यपि, त्यो बल नो–बलबाट आएको फ्री हिट थियो। हैदर र मतिउल्लाहबीच रन पूरा गर्ने क्रममा गल्ती भएको थियो। तर, बंगलादेशका तोहिद हृदोयले पहिलो प्रयासमै थ्रो नगर्दा युएईका ब्याटर दुई रन पूरा गर्न सफल भए र इतिहास रचियो।
युएईका मोहम्मद जोहाइबल ३४ बलमा तीन चौका र दुई छक्कासहित ३८ रन बनाए। आसिफ खान १९, अलिसान सरफु १३ र ध्रुव ११ रनमा आउट हुँदा हैदर अली १५ रनमा अविजित रहे।
बंगलादेशका नाहिद राना, राशिद हौसेन र शोरिफुल इस्लामको नाममा समान दुई विकेट रह्यो।