विराटनगर। भारतको आसाम क्रिकेट क्लबले एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता बुधबार कोशी प्रदेशलाई पराजित गरेको छ।
बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा आसामले कोशीलाई ९७ रनको ठूलो अन्तरले पराजित गरेको हो। २१० रनको लक्ष्य पछ्याएको कोशीले ३७. २ ओभरमा ११२ रनमा सबै विकेट गुमायो। कमजोर ब्याटिङ गरेको कोशीको लागि आइस भट्टराई र बिपिन महतोले सर्वाधिक १५ रन योगदान दिए।
चिराग शाहले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। आसामको बलिङतर्फ तापनकुमार शर्मा र गोकुल शर्माले समान तीन विकेट लिए। राज विश्वले दुई तथा चिरन्तन खत्तिनियर र अमित सिन्हाले समान एक विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको आसाम क्रिकेट क्लबले ४७.३ ओभरमा २०९ रनमा सबै विकेट गुमाएको थियो।
आसामको ब्याटिङमा कप्तान गोकुल शर्माले सर्वाधिक ७८ रन योगदान दिए जुन क्रममा उनले ९९ बलमा सात चौका र दुई छक्का प्रहार गरे।
अरुण सोनारले ५१ रन बनाए जुन क्रममा ७६ बलमा तीन चौका र तीन छक्का प्रहार गरे। राज विश्वले २४, केभिन संजिवले १५ तथा अमित सिन्हाले १२ रन बनाए। ३३ रनमा तीन विकेट गुमाएको अवस्थाबाट चौथो विकेटको लागि गोकुल र अरुणले शतकीय साझेदारी गर्दै १०६ रन जोडे।
कोशी प्रदेशको बलिंगमा देब्रे हाते स्पिनर प्रेम कामतले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा तीन मेडन गर्दै चार विकेट लिए। बिपिन कुमार महतो र भुपाल लुइँटेलले समान दुई विकेट लिए। फिर्दोश अन्सारी र प्रकाश कार्कीले समान एक विकेट लिए।
अलराउन्ड प्रदर्शन गरेका आसामका गोकुल शर्मा प्लेयर अफ द म्याच घोषित भए।