काठमाडौं। आगामी वर्ष जापानको नागोयामा हुने एसियाली खेलकुद (एसियन गेम्स) मा क्रिकेटलाई पनि समावेश गरिने भएको छ।
एसियाली ओलम्पिक परिषद (ओसिए) क्रिकेटलाई २०२६ को कार्यक्रमका लागि स्वीकृति दिइएको हो। गत वर्ष हाङ्झाउमा भएको गेम्समा पनि क्रिकेट समावेश थियो। ओसिएले आफ्नो विज्ञप्तिमा भनेको छ,‘क्रिकेटको खेलस्थल आइचि प्रिफेक्चरमा हुनेछ तर ठ्याक्कै स्थान तोकिएको छैन।’
क्रिकेट दक्षिण एसियामा निकै लोकप्रिय खेल भएकाले यसमा व्यापक चासो रहँदै आएको छ। साथै, सन् २०२८ को लस एन्जलस ओलम्पिकमा समेत क्रिकेटलाई टी–२० फर्म्याट समावेश गरिने तयारी छ।
सन् २०१८ मा जकार्तामा आयोजित एसियाली खेलकुदबाट क्रिकेट हटाइएको थियो। तर, हाङ्झाउमा यसले पुनरागमन गरेको हो। तर, टी–२० प्रतियोगितामा एकतर्फी नतिजा आएको थियो। नेपालले त मंगोलियाविरुद्ध ३१४ रनको विश्व कीर्तिमान बनाएको थियो। यस्तै, दीपेन्द्रसिंह ऐरीले नौ बलमा अर्धशतक प्रहार गरेका थिए। कुशल मल्लले ३४ बलमै शतक प्रहार गर्दै विश्व कीर्तिमान राखेका थिए।
वर्षाले प्रभावित भएको फाइनलमा भारतलाई अफगानिस्तानभन्दा वरीयतामा माथि रहेको भन्दै स्वर्ण पदक प्रदान गरिएको थियो। यो निर्णय आलोचित भएको थियो। नागोया जापानको तेस्रो सहर हुनेछ, जसले एसियाली खेलकुद आयोजना गर्न लागेको छ। यसअघि सन् १९५८ मा टोकियो र १९९४ मा हिरोसिमाले प्रतियोगिता आयोजना गरेका थिए।
हाङ्झाउमा सम्पन्न पछिल्लो संस्करणमा ४५ देशबाट १२ हजार भन्दा बढी खेलाडीले ४० खेलमा प्रतिस्पर्धा गरेका थिए। चीनले लगातार ११औं पटक पदक तालिकामा शीर्ष स्थान ओगटेको थियो।