काठमाडौं। नेपाल यल्लोले कोर टिम क्यापमा दोस्रो जित निकालेको छ। कप्तान दीपेन्द्रसिंह ऐरीको अविजिति ४२ रनसँगै यल्लोले ग्रिनलाई पाँच विकेटले पराजित गरेको हो।
यल्लोको अभ्यास खेलमा दोस्रो जित हो। दुवै खेलमा यल्लोले ग्रिनलाई पराजित गरेको हो। यसअघि नेपाल रेडसँग आठ विकेटले पराजित भएको थियो। त्यस्तै, ग्रिनमाथि भने १७ रनको जित हात पारेको थियो।
ग्रिनले दिएको ९६ रनको लक्ष्य पछ्याएको यल्लोले १७.५ ओभरमा पाँच विकेट गुमाउँदै ९८ रन बनायो। यल्लोका दीपेन्द्रले अविजित रहँदै सर्वाधिक ४२ रन बनाए। ३६ बल खेलेका उनले आठ चौका प्रहार गरे।
किरण ठगुन्नाले २८ बलमा तीन चौका र एक छक्कासहित २९ रन बनाए। ग्रिनका सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए। नौ ओभर बलिङ गरेका उनले एक मेडनसहित ५१ रन खर्चिए।
रिजन ढकालले दुई विकेट हात पारे। त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको ग्रिनले २७.२ ओभरमा सबै विकेट गुमाउँदै ९५ रन बनाएको थियो।
ग्रिनका अर्जुन कुमालले सर्वाधिक ३० रन बनाए। ३८ बल खेलेका उनले पाँच चौका प्रहार गरे। कप्तान आशिफ शेख २० र पवन सर्राफ १४ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
यल्लोका विशाल पटेल र अभिनाश बोहोराले समान तीन विकेट लिए। कमलसिंह ऐरी र रुपेश सिंहको नाममा दुई/दुई विकेट रह्यो।