काठमाडौं। ठूलो खर्च र सपना बोकेर मैदान उत्रिका साउदी अरबका क्लबहरूले एएफसी च्याम्पियन्स लिग इलिटमा स्पष्ट वर्चस्व जमाएका छन्। सेमिफाइनलसम्म आइपुग्दा चार टिममध्ये तीन साउदी क्लब नै छन्। ती सबै खेल जेद्दाहकै मैदानमा भएका हुन्।
गत सप्ताहन्तका क्वार्टरफाइनलमा साउदी प्रो–लिगका क्लबहरूले विपक्षीहरूमाथि १४–१ को प्रभावशाली जित निकाल्दै आफ्नो दबदबा जमाए। अब मे ३ मा हुने फाइनलमा कम्तीमा एउटा साउदी क्लब पुग्ने पक्का भइसकेको छ। चार पटकको च्याम्पियन अल–हिलालले दुई पटकको फाइनलिस्ट अल–अहलीसँग सेमिफाइनल भिडन्त तय गर्नेछ।
सुपरस्टार क्रिस्टियानो रोनाल्डोको अल–नासरले बुधबार जापानको कावासाकी फ्रन्टालेसँग प्रतिस्पर्धा गर्नेछ। कावासाकी सेमिफाइनलसम्म पुगेको एकमात्र गैरसाउदी क्लब हो। कावासाकीले आइतबार अतिरिक्त समयमा कतारको अल–सद्दलाई ३–२ ले हराउँदै इतिहास रचेको हो।
जेद्दाहमा आयोजना भएका सबै प्लेअफ खेलले घरेलु टिमलाई स्पष्ट फाइदा दिएको छ। भीड, मैदान र तिनको समर्थन। सबैले साउदी क्लबलाई थप उर्जा दिएको देखिन्छ।
२०२३ को सिजनमा करिब एक अर्ब डलर खर्चेर विश्वका ठूला खेलाडी भित्र्याएका साउदी क्लबले अब आफ्नो लगानीको फल देख्न थालेका छन्।
शनिबार अल–नासरले गत सिजनको उपविजेता योकोहामा एफ मारीनोसलाई ४–१ ले हरायो। रोनाल्डो, साडियो माने र जोन डुरान (एस्टन भिल्लाबाट करिब ८० मिलियन डलरमा अनुबन्ध) का गोलले टोलीको सानदार जित सुनिश्चित गरे।
योकोहामाका अन्तरिम प्रशिक्षक प्याट्रिक किस्नोर्बोले भने,‘यहामी प्रिमियर लिग स्तरको फुटबल खेलिरहेका छौंजस्तो लाग्छ।’ तर, पूर्वी एसियाली टिमका लागि जेद्दाहसम्मको लामो यात्रा सजिलो रहेन। थाइल्यान्डको बुरिराम युनाइटेडका प्रशिक्षक ओस्मार लसले घरेलु लिगलाई प्राथमिकता दिँदै मुख्य खेलाडी जोगाउन परेको बताए। बुरिराम अल–अहलीसँग ३–० ले पराजित भयो।
सबैभन्दा एकतर्फी नतिजा भने दक्षिण कोरियाली नवागन्तुक ग्वाङ्जु एफसीले भोग्यो, अल–हिलालसँग ७–० को हार। अब अल–हिलाल र अल–अहलीबीच जेद्दाह डर्बीजस्तै महत्त्वपूर्ण सेमिफाइनल हुनेछ।
अल–अहली यसअघि फेब्रुअरीमा अल–हिलाललाई ३–२ ले हराएको थियो। तीनै गोल इङ्ल्यान्डका स्ट्राइकर इभान टोनीले गरेका थिए। रियाद महरेज र रोबर्टो फिर्मिनोजस्ता प्रिमियर लिगका पूर्वस्टारहरू पनि बुरिरामविरुद्ध गोल गर्दै चम्किए।
अल–अहलीका प्रशिक्षक माथियास जाईसलले भने, ‘खेलाडीहरूलाई सेमिफाइनलमा पुर्याएकोमा बधाई दिएको छु। तर, अब विश्राम र उत्कृष्ट तयारीमा ध्यान दिनु पर्नेछ।’