काठमाडौं। किलियन एमबाप्पेले रियल मड्रिडलाई उपाधि जिताउन सकेसम्म प्रयास गरे। तर, शनिबार भएको कोपा डेल रे फाइनलमा बार्सिलोनासँग रियल अतिरिक्त समयमा ३–२ ले पराजित हुन पुग्यो।
एंकल चोटका कारण सुरुआती ११ मा स्थान नपाएका एमबाप्पे दोस्रो हाफमा विकल्पको रूपमा मैदान प्रवेश गरेका थिए। रियलले खेलमा पुनरागमन पनि गरेको थियो। फ्रान्सेली स्ट्राइकरले ७०औं मिनेटमा फ्रिकिकबाट बराबरी गोल गरे। त्यसपछि रियलले २–१ को अग्रता लिए पनि बार्सिलोनाले पुनः उत्कृष्ट पुनरागमन गर्दै यस सिजनको तेस्रो क्लासिको जित हात पार्यो।
एमबाप्पेले १० दिनअघि आर्सनलसँगको च्याम्पियन्स लिग क्वार्टरफाइनल दोस्रो लेगमा दाहिने खुट्टाको एंकलमा चोट लागेपछि पूरै खेल खेल्न सकेका थिएनन्। त्यसपछि ला लिगाको एक खेल उनी प्रतिबन्धमा परेका थिए। पछिल्लो साता उनलाई विश्राममा राखियो। यद्यपि, यति ठूलो उपाधिको भिडन्तमा उनलाई सुरुआतबाट नखेलाउनु केही हदसम्म आश्चर्यको विषय बनेको थियो।
मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले एमबाप्पेको फिटनेसका कारण निर्णय गरिएको बताएका छन्। ‘उनी ९० मिनेट खेल्न सक्ने अवस्थामा थिएनन्। त्यसैले म उनलाई दोस्रो हाफमा प्रयोग गर्न चाहन्थें, जब खेलको गति केही सुस्त हुन्छ। उनले राम्रो खेले र गोल पनि गरे,’ एन्सेलोटीले भने।
बार्सिलोना पनि आफ्नो मुख्य स्ट्राइकर बिना नै मैदानमा उत्रिएको थियो। रोबर्ट लेवान्डोस्कीलाई गत साता बायाँ थाइमा चोट लागेका थिए। उनको स्थानमा फेरान टोरेसले सुरुआत गरे र अतिरिक्त समय उपाधि पक्का पार्न बराबरी गोल गरे।