ठूला टोलीको बलियो अग्रता, तर सेमिफाइनल यात्रा अझै अनिश्चित

काठमाडौं। च्याम्पियन्स लिग क्वार्टरफाइनलमा बार्सिलोना, पेरिस सेन्ट–जर्मेन (पिएसजी) र आर्सेनलले बलियो अग्रता बनाए पनि सेमिफाइनल यात्रा अझै सुनिश्चित गर्न सकेका छैनन्।
युरोपेली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगितामा कुनै पनि परिणाम निश्चित मान्न सकिँदैन। इतिहासले देखाएको छ– बलियो अग्रता हुँदाहुँदै पनि ठूला क्लबहरूले उल्टो नतिजा भोगेका छन्।
बार्सिलोना र पिएसजी दुवैले अघिल्लो वर्ष यस्तो अप्रत्याशित नतिजा भोगेका थिए। बार्सिलोना गत वर्ष पिएसजीविरुद्ध ४–२ को एग्रिगेट अग्रता लिएर दोस्रो लेगमा उत्रिएको थियो।
तर, अन्तिममा ६–४ ले पराजित भयो। सन् २०१७ मा पिएसजी ले पहिलो लेगमा ४–० को सानदार जित निकाले पनि दोस्रो लेगमा क्याम्प नोउमा ६–१ ले हार बेहोर्दै प्रतियोगिताबाट बाहिरियो।
यस्ता नाटकीय खेलहरूकै कारण च्याम्पियन्स लिग रोमाञ्चक प्रतियोगिता बनेको हो। सन् २००५ को फाइनलमा लिभरपुलले एसी मिलानसँग पहिलो हाफमा ३–० ले पछि परेपछि पनि बराबरी गर्दै पेनाल्टीमा जित हात पारेको थियो। सन् २०१९ मा पनि लिभरपुलले पहिलो लेगमा ३–० ले हारेपछि दोस्रो लेगमा बार्सिलोनालाई ४–० ले हराउँदै फाइनल यात्रा तय गरेको थियो।
१५ पटकको च्याम्पियन्स लिग विजेता रियल मड्रिड यस पटक ३–० ले आर्सेनलसँग पछि परेको छ। बर्नबेउ रंगशालामा दोस्रो लेग खेल्नुअघि रियलको हालको प्रदर्शन कमजोर देखिएको छ। टोलीले पछिल्ला चारमध्ये मात्र एक खेलमा जित हात परेको छ।
तर, रियल च्याम्पियन्स लिगमा चमत्कारी पुनरागमन गर्न सक्ने टोली हो। सन् २०२२ मा म्यानचेस्टर सिटीविरुद्ध ९०औं मिनेटसम्म ५–३ ले पछि परे पनि अन्त्यमा फाइनल पुग्न सफल भएको थियो। रियल कहिले हार स्वीकार गर्दैन भन्ने कुरा इतिहासले देखाइसकेको छ।
बार्सिलोनाको पुनरागमन
लिओनल मेसीपछिको युगमा यो बार्सिलोनाको सर्वश्रेष्ठ टोली हुनसक्छ। स्पेनिस लिगमा शीर्ष स्थानमा रहेको बार्सिलोना ४–० को अग्रतासहित डोर्टमुन्डसँग दोस्रो लेग खेल्दैछ। रोवर्ट लेवान्डोव्स्की, रफिन्हा र लमिन यमलजस्ता खेलाडीको प्रदर्शन उत्कृष्ट छ र सन् २०१५ यता पहिलोपटक उपाधि जित्ने बलियो सम्भावना देखाएको छ।
यता, किलियन एमबाप्पे क्लबबाट बाहिरिए पनि पिएसजी ले फ्रेन्च लिग उपाधि जितिसकेको छ र च्याम्पियन्स लिगमा पनि प्रदर्शन राम्रो छ। लुइस एनरिकेको प्रशिक्षणमा ओस्मान डेम्बेलेजस्तो खेलाडीले २४ गोल गर्दै क्लबको उचाइ बढाएका छन्। पिएसजी अहिले एस्टन भिल्लाविरुद्ध ३–१ को अग्रतामा छ। तर, अघिल्ला वर्षमा प्रतियोगितामा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको इतिहास पनि छ।
इन्टर मिलानले बायर्न म्युनिखविरुद्धको पहिलो लेगमा २–१ को जित निकालेको छ। दाविदे फ्रत्तेसीको ८८औं मिनेटको गोलले इन्टरलाई सान सिरोमा दोस्रो लेग खेल्नुअघि अग्रता दिलाएको हो।
इन्टर मिलान सन् २०२३ मा फाइनल पुगेर पनि उपाधि जित्न चुकेको टोली हो. यसपटक चुपचाप तर बलियो चुनौती दिइरहेको छ। बायर्नले भलै जर्मन लिग उपाधि जित्नै लागेको देखिए पनि इन्टरको अनुभव र लचकताले डार्क होर्स बनाएको छ।