लिग लिडर भगवतीको लगातार दोस्रो जित
मंगलबार, चैत ४, २०८१खेलपाटी संवाददाता

काठमाडौं। श्री भगवती क्लबले बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा भगवतीले बिग्रेट ब्वाइज क्लबलाई २–० ले पराजित गरेको हो।
योसँगै लिग लिडर भगवतीले दुई खेलबाट ६ अंक पुर्याएको छ। दोस्रो स्थानको बिग्रेट ब्वाइजको भने यो पहिलो हार हो।
भगवतीलाई लगातार जित दिलाउन सुलेमान थापामगर र दीपेश श्रेष्ठले गोल गरे।
सुरुआतीदेखि नै खेलमा हाबी भएको भगवतीले ३०औं मिनेटमा अग्रता लिएको थियो। बिक्रान्त नरसिंह रानाले पेनाल्टी बक्सबाट दिएको बललाई अनमार्क सुलेमानले सहजै गोलमा परिणत गरे।
निर्धारित खेल सकिन ६ मिनेट बाँकी रहँदा दीपेशले अर्को गोल गर्दै सहज जित दर्ता गरे।