रग्बी खेलाडीलाई नेतृत्व विकास तालिम

काठमाडौं। नेपाल रग्बी संघको आयोजनामा सातै प्रदेशका रग्बी खेलाडीलाई नेतृत्व विकाससम्बन्धी तालिम प्रदान गरिएको छ।
चाइल्ड फन्ड रग्बीको विशेष सहयोगमा संघले काभ्रेको नमोबुद्धमा खेलाडीको नेतृत्व विकास सम्बन्धी दुई दिने कार्यक्रम सञ्चालन गरेको हो।
विश्व महिला रग्बीको पहल, चाइल्ड फन्ड रग्बीको सहयोगमा संघले नामोबुद्ध नगरपालिकासँगको सहकार्यमा ग्रास रुट टु ग्लोबल वुमन्स लिडरसिप फोरम कार्यक्रम सञ्चालन गरेको हो।
सहभागी खेलाडीलाई नेपाल रग्बी संघकी कामना गिरीले प्रशिक्षण दिएकी थिइन्।
नेपाल रग्बी संघकी महिला विभाग प्रमुख एलिशा थापाले सातै प्रदेशका ४० खेलाडीलाई दोस्रो चरणमा नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिइएको बताइन्। ‘पहिलो पटक सन् २०२२ मा पोखरामा ४५ जना खेलाडीलाई नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिइएको थियो। खेलाडीलाई खेलसँगै उनीहरूको नेतृत्व विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।’ उनले भनिन्।
कार्यक्रमकी फोकल पर्सन समेत रहेकी थापाले तालिमले खेलाडीको व्यक्तिगत र खेल जीवनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा रहेको बताइन्।
कार्यक्रममा लिडरसिप म्याप मेकिङ, सहभागी खेलाडीको अनुभव तथा खेल क्षेत्रमा लागेका महिलाको अवसर र चुनौती लगायतको विषयमा समेत छलफल गरिएको थियो।
प्रशिक्षणमा सहभागीमध्ये एक जनालाई अन्तर्राष्ट्रिय स्तरको ग्रास रुट टु ग्लोबल सबमिटमा सहभागी गराइने नेपाल रग्बी संघले जनाएको छ। प्रशिक्षणमा सहभागी खेलाडीलाई संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरीले प्रमाणपत्र प्रदान गरेका थिए।