काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज ललितपुर सिटी एफसीका मुख्य प्रशिक्षक साइमन ग्रेसन र फरवार्ड केर्वेन्स बेल्फोर्ट नेपाल आइपुगेका छन्।
उनीहरू सोमबार त्रिभुवन विमानस्थल झरेका हुन्। साविक विजेता ललितपुरले नयाँ सिजनको एनएसएलको लागि लिड्स युनाइटेडका पूर्वप्रशिक्षक साइमनलाई क्लबमा भित्र्याएको हो। साइमन युएएफएका प्रो– लाइसेन्स प्रशिक्षक हुन्।
साइमनले लिड्स सहित हुडर्सफिल्ड टाउन र प्रेस्टन नर्थलाई समेत प्रशिक्षकको रुपमा च्याम्पियनसिपमा उकालेका थिए। साइमनले पछिल्लो समय इन्डियन सुपर लिगमा बैग्लुरु एफसीलाई सम्हाल्दै आएका थिए।
उनले नेतृत्वमा बैग्लुरुले डुरान्ड कप जितेको थियो भने इन्डियन सुपर लिग र सुपर कपको फाइनल खेलेको थियो। सन् १९९६ को इङ्लिस लिग कप विजेता साइमनले लामो समय लेस्टर सिटी, ब्ल्याकपुल, एस्टन भिल्ला र ब्ल्याकवर्नबाट व्यवसायीक फुटबल खेले।
हाइटीका पूर्वफरवार्ड बेल्फोर्ट अघिल्लो सिजन बंगलादेश प्रिमियर लिग क्लब कालिकट एफसीबाट खेलेका थिए। सन् २०१० देखि २०१७ सम्म हाइटीको राष्ट्रिय टोलीमा रहेका उनले १४ गोल गरेका छन्।