काठमाडौं। एट्लेटिको मड्रिडको ला लिगा उपाधि दौडमा गम्भीर धक्का पुगेको छ।
शनिबार भएको खेलमा सिटी प्रतिद्वन्द्वी गेटाफेले इन्जुरी समयमा गोल गर्दै २–१ को जित दर्ता गरेसँगै एट्लेटिकोले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ।
गेटाफेले २५ खेलपछि एट्लेटिकोविरुद्ध पहिलो जित हासिल गरेको हो। गेटाफेका प्रशिक्षक जोसे बोर्डालासविरुद्ध डिएगो सिमियोनको व्यक्तिगत रूपमा पहिलो हार पनि बन्यो।
रियल मड्रिडसँगको हारपछि मात्र तीन परिवर्तनसहित मैदान उत्रिएको एट्लेटिकोका लागि यो खेल निकै महत्त्वपूर्ण थियो। तर, आफ्नो मुख्य प्रतिद्वन्द्वीविरुद्ध दोस्रो लेगको खेललाई ध्यानमा राख्दै टोलीले शीर्ष स्तरको प्रदर्शन दिन सकेनन्। पहिलो हाफभरि एट्लेटिकोले एकपटक पनि पोस्टमा सट प्रहार गर्न सकेन।
गेटाफेले भने खेलको सुरूआतदेखि नै आफ्नो रक्षात्मक रणनीति मजबुत बनायो।
पछिल्ला आठ लिग खेलमा गेटाफेविरुद्ध सात गोल गरिसकेका एन्टोइन ग्रिजम्यान पनि सुरूआती चरणमा प्रभावशाली देखिएनन्। तर, उनले केही सेट पिसमा अवसर सिर्जना गरे।
७५औं मिनेटमा रोबिन ले नोर्मान्डले फ्रि–किकमार्फत प्रहार गरेको बल ओमार अल्डेरेटेले लाइनबाट क्लियर गरे। तर, भिएआरले उनको ह्यान्डबल देखाउँदै पेनाल्टी दियो। त्यसपछि सर्लोथले बललाई जाली चुमाउँदै एट्लेटिकोलाई १–० को अग्रता दिलाए।
तर, ८५ औं मिनेटमा एट्लेटिकोका एन्जल कोरेआले गेटाफेका ड्जेनेलाई हाइ बुट प्रहार गरेपछि रातो कार्ड पाए, जसले खेलको गति बदलिदियो।
त्यसपछि गेटाफेका माउरो अराम्बारीले फ्रि–किकमार्फत नजिकको पोस्टमा गोल गर्दै खेल बराबरीमा ल्याए।
त्यसैको केही मिनेटपछि अराम्बारीले अर्को गोल गर्दै जित पक्का गरे। उनले डिएगो रिकोको पासलाई सदुपयोग गर्दै बललाई जाली चुमाउँदै गेटाफेलाई रेलिगेसन क्षेत्रभन्दा सात अंक माथि पुर्याए।
अब सिमियोनेको टिम कठिन खेलको शृंखलामा प्रवेश गर्दैछ। यसले टोलीको शीर्ष चारमा रहने सम्भावनामा समेत असर पार्न सक्छ।