अद्भुत केन

काठमाडौं। ‘ह्यारी केनको गोलले मात्र उनको मूल्यांकन नगरौं,’ बायर्न म्युनिखका सहकर्मी जोशुवा किमिचले शनिबार केनको प्रशंसा गर्दै भने।
इङ्ग्ल्यान्डका स्टार फरवार्ड केनले बायर्नलाई फ्राइबर्गमाथि २–१ को जित दिलाउन महत्त्वपूर्ण भूमिका खेले। योसँगै बायर्नले बुन्डेसलिगामा शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ।
केनले सुरुआती अग्रता दिलाउँदै लिगमा आफ्नो १७औं गोल पूरा गरे। तर, यो नोभेम्बरदेखि ओपन प्लेबाट गरिएको पहिलो गोल थियो। गोल गरेपछि केनले गरेको सेलिब्रेसनले नै प्रस्टाउँथ्यो, पेनाल्टीबाहेक अन्यमा गोल गर्न उनलाई केही दबाब महसुस भइरहेको छ।
केनको समग्र प्रदर्शलाई किमिचले प्रेरणादायक भन्दै भने, ‘पछिल्ला केही हप्तामा आलोचना झेलेका केनले आज जुन खेल देखाए, त्यो अद्भुत थियो। उनले हाम्रो बक्सभित्र डिफेन्समा मद्दत गरे, बल रोक्न जोखिम मोले, पहेँलो कार्ड पाए र घाइते भएर मैदानमा लडे।’
किमिचले थपे, ‘आज उनले टिमका लागि जुन प्रदर्शन गरे, त्यो हाम्रा लागि एकदमै आवश्यक छ। सधैं ह्याट्रिक गरेर जित्न सक्ने कुरा मात्र होइन, टिमको साथमा उभिएर सामूहिक रूपमा जित निकाल्नु पनि महत्त्वपूर्ण हो।’
बायर्नका अनुसार केनको फ्राइबर्गका गोलकिपर नोआ अतुबोलुलाई छलेर प्रहार गरेको बल १२१ किमी प्रतिघण्टा (७५ माइल प्रतिघण्टा) को गतिमा रहेको थियो। उनले फिलिप लियनहार्टलाई छल्दै पहिलो टचमै उत्कृष्ट गोल गरेका थिए।
बायर्नका प्रशिक्षक भिन्सेन्ट कम्पनीले पनि केनले डिफेन्समा गरेको प्रयासको प्रशंसा गरे। ‘३१ वर्षीय फरवार्डले जुन प्रयास गरे त्यो टिमका लागि महत्त्वपूर्ण छ,’ उनले भने।
केनले टोटनह्याममा १० वर्ष र बायर्नमा एक सिजन बिताउँदा कुनै ट्रफी जित्न सकेका थिएनन्। सन् २०२३ को अगस्टमा १०० मिलियन यूरो (११ करोड अमेरिकी डलर) भन्दा बढीको सम्झौतामा उनी बायर्नसँग जोडिएका थिए।
तर, बायर्नमा उनको पहिलो सिजन सन् २०१२ यता पहिलो पटक बिना ट्रफी समाप्त भयो। त्यस सिजन बायर्न बुन्डेसलिगामा दोस्रो स्थानमा रह्यो, जर्मन कपको फाइनलमा बोरुसिया डर्टमन्डसँग ५–२ ले पराजित भयो र च्याम्पियन्स लिगको फाइनलमा चेल्सीसँग पेनाल्टीमा हारेको थियो।
यस वर्ष फाइनल फेरि म्युनिखमै आयोजना हुँदैछ। ‘केन र बायर्न दुबै यस सिजनमा विगतका गल्ती सुधार गर्न तयार छ। उनले यस वर्ष सफल हुन आफ्नो सबै दिनेछन् र हामीले त्यसको फाइदा लिइरहेका छौं,’ कम्पनीले भने।





-1778148743099.webp&w=3840&q=75)





-1778080143092.jpeg&w=3840&q=75)

