१८ वर्षीय एन्ड्रिकले जोगाइदिए अर्को हार

काठमाडौं। कोपा डेल रेको राउन्ड अफ १६ मा सेल्टा भिगोलाई पराजित गर्न रियल मड्रिडललाई अतिरिक्त समयमा एन्ड्रिकका दुई गोलको आवश्यकता परेको थियो, जसले बार्सिलोनासँग स्पेनिस सुपर कप फाइनलमा ५–२ को हार भोगेपछि अर्को लज्जास्पद झट्काबाट जोगायो।
सान्टियागो बर्नबेउ स्टेडियममा फेडेरिको भाल्भेर्डेले पनि अतिरिक्त समयमा गोल गर्दै रियललाई ५–२ को जित दिलाए। किलियन एमबाप्पे र भिनिसियस जुनियरले प्रत्येक हाफमा गोल गरे। तर, सेल्टाले जोनाथन बाम्बाले ८३औं मिनेटमा र मार्कोस अलोन्सोले स्टपेज टाइममा गोल गर्दै खेल बराबरीमा ल्याए।
१८ वर्षीय एन्ड्रिक खेलको ७९औं मिनेटमा मैदान प्रवेश गरेका हुन्। १०८औं मिनेटमा डिबक्स बाहिरबाट उनले प्रहार गरेको शटले रियललाई ३–२ को अग्रता दिलाएको थियो। त्यसपछि ११९औं मिनेटमा ब्याक–हिल फ्लिकमार्फत उनले रियलको जित सुनिश्चित गरे। त्यसअघि भाल्भेर्डेले ११२औं मिनेटमा अग्रता थपेका थिए।
‘यो कठिन थियो, तर रियलसँग सधैं यस्तो नै हुन्छ। हामी अन्त्यसम्म लड्छौं र माथि आउँछौं,’ गोल गरेपछि जर्सी खोलेर सेलिब्रेसन गरेका एन्ड्रिकले भने,‘हामी कहिल्यै हार मान्दैनौं।’
बार्सिलोनाविरुद्धको हारबाट रियल सहज जितको खोजीमा थियो। कार्लो एन्सेलोटीको टोलीले स्पेनिस लिगको शीर्ष स्थानमा रहेको एट्लेटिको रियलसँगको दौडमा रहन र च्याम्पियन्स लिगको समूह चरणमा आफ्नो स्थान सुधार गर्ने प्रयास गर्दैछ।
एमबाप्पेले ३७औं मिनेटमा रियललाई सुरुआती अग्रता दिलाएका थिए। उनले मध्य भागभन्दा अगाडि बल बढाएर सेल्टा क्षेत्रभित्र प्रवेश गरे र बायाँ खुट्टाले क्रस शटमार्फत गोल गरे। यो एमबाप्पेको पछिल्लो पाँच खेलमा दोस्रो गोल हो। भिनिसियसले ४८औं मिनेटमा ब्रेकअवेमा अर्को गोल थपे। पाँच खेलपछि उनको यो पहिलो गोल हो।
रियलका मिडफिल्डर एडुआर्डो कामाभिङ्गाले बल गुमाएपछि ८३औं मिनेटमा बाम्बाले गोल गर्दै खेल २–१ मा ल्याएका थिए। र, स्टपेज टाइमको सुरुमै बाम्बालाई डिबक्स क्षेत्रभित्र फाउल गरिएपछि अलोन्सोले पेनाल्टीमार्फत खेल बराबरीमा ल्याए।
एन्ड्रिकले रियलसँग आफ्नो पहिलो सिजनमा राम्रो सुरुआत गरेका थिए। तर, उनलाई एन्सेलोटीले हालसालै धेरै खेल्ने मौका दिएका थिएनन्।
‘(एन्सेलोटी) थाहा छ उहाँ के गर्दै हुनुहुन्छ,’ एन्ड्रिकले भने, ‘उहाँले एन्ड्रिकको लागि राम्रो गर्ने होइन, टोलीको लागि राम्रो गर्ने हो। उहाँलाई थाहा छ कि मैले कडा मिहिनत गरिरहेको छु।’
साउदी अरेबियामा बार्सिलोनाविरुद्धको सुपर कप फाइनलमा संघर्ष गरेका अरेलियन टचौमेनीलाई बर्नबेउको केही दर्शकले हुटिङ गरे।







-1764294451367.webp&w=3840&q=75)
-1764209252132.webp&w=3840&q=75)




-1764236044054.jpeg&w=3840&q=75)