काठमाडौं। म्यानचेस्टर युनाइटेडका प्रशिक्षक रुबेन अमोरिमले फरवार्ड मार्कस रसफोर्डलाई आफ्नो योजनाबाट बाहिर राख्ने निर्णय गरेका छन्।
२७ वर्षीय रसफोर्डले वुल्भरह्याम्प्टन वान्डरर्ससँग युनाइटेड २–० ले पराजित भएको खेलमा पनि स्थान बनाउन सकेनन्। उनले लगातार चौथो खेलमा टोलीमा स्थान बनाउन असफल भएका हुन्।
रसफोर्डले सुरुमा नयाँ चुनौती चाहिएको कुरा बताएपछि उनलाई टोलीबाट बाहिर राखिएको थियो। वुल्भ्सविरुद्धको हारपछि अमोरिमले इङ्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी अझै आफ्नो योजनाको हिस्सा नरहेको संकेत दिए।
‘सधैं एउटै कारण हो, हामी जितौं या हारौं उही प्रोसेश्नल रूपमा काम गर्नुपर्छ। मैले मेरो दृष्टिकोण अन्त्यसम्म कायम राख्नुपर्छ,’ अमोरिमले भने। रासफोर्डले टोलीमा फर्किन कुरा गरेका छन् कि भनेर सोधिएकोमा अमोरिमले थपे, ‘यदि उनी यहाँ छैनन् भने तपाईं आफ्नो निष्कर्षमा पुग्न सक्नुहुन्छ।’
प्रिमियर लिगका पछिल्ला पाँचमध्ये चार खेलमा युनाइटेडले हार बेहोरेको छ। मोलिनिउक्समा कप्तान ब्रुनो फर्नान्डिजले पहिलो हाफको दुई मिनेटपछि दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।
फर्नान्डिजको उपस्थिति हुँदा पनि युनाइटेडले खासै प्रभावशाली प्रदर्शन गर्न सकेन। ५८औं मिनेटमा मथेउस कुइन्हाको कर्नरबाट आएको बलमा युनाइटेडका गोलकिपर आन्द्रे ओनानाले कमजोर प्रतिक्रियासहित गोल हुन दिए।
फर्नान्डिज र ओनानाको प्रदर्शनबारे अमोरिमले भने, ‘मलाई लाग्छ ओनानाले बलमा पुग्ने कोसिस गरिरहेका थिए। केही खेलाडी बलतर्फ ध्यान दिइरहेका थिएनन्, तर म यसमा बढी ध्यान केन्द्रित गर्न चाहन्नँ।’
उनले थपे, ‘सकारात्मक पक्ष भनेको हामी १० खेलाडीको स्थितिमा पनि गोलको नजिक पुग्यौं। यो राम्रो संकेत हो। तर, दुर्भाग्यवश हामी पराजित भयौं।’