काठमाडौं । यो सिजन मोहम्मद सलाहले प्रत्येक साता अर्को उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । लिभरपुलका यी फरवार्डले आइतबार टोटनहमलाई ६–३ ले पराजित गर्ने क्रममा म्यानचेस्टर सिटीका इर्लिङ हालान्डलाई उछिन्दै प्रिमियर लिगमा गोल्डेन बुटको दौडमा अगाडि बढेका थिए । र, उनले ‘बक्सिङ डे’मा लेस्टर सिटीविरुद्ध खेल्दै छन् ।
उनले यो सिजन प्रिमियर लिगमा १५ गोल र ११ असिस्ट गरेका छन् । यी दुवैमा उनी सबभन्दा अगाडि छन् । इजिप्टका स्टार सलाह सन् २०२२ को सफलता दोहोर्याउने स्थितिमा छन्, जुन सिजन उनले गोल्डेन बुट र प्लेमेकरको अवार्ड जितेका थिए ।
एन्फिल्डमा सलाहको भविष्यमाथि भने ठूलै बहस भइरहेको छ । उनको अनुबन्ध यो सिजनको अन्त्यसँगै सकिँदै छ तर उनले रेकर्ड भने एकपछि अर्को गरी तोडिरहेका छन् । यस बेला ३२ वर्षीय उनी प्रिमियर लिगमा सर्वकालीन फरवार्डहरूमाझ कुन स्थानमा छन् त ?
यो सिजनको सुरुआत निक्कै उत्कृष्ट ढंगले गरेका सलाहले १२ खेलयता १२ गोल गरेका छन् । र, सबै किसिमका प्रतियोगितामा ३३ गोलमा योगदान गरेका छन्, जसमा १८ गोल र १५ असिस्ट रहेको छ । युरोपका शीर्ष पाँच लिगमा उनी गोलमा योगदान गरेका अरु खेलाडीभन्दा चार गोल/असिस्टले अगाडि छन् ।
सलाहले टोटनहमविरुद्धको खेलमार्फत प्रिमियर लिगमा तीन रेकर्ड बनाए:
– क्रिसमसअघि गोल र असिस्टको दोहोरो अंक छुने पहिलो खेलाडी
– लगातार चौथो सिजन गोल र असिस्टमा दोहोरो अंक छुने पहिलो खेलाडी
– वायनी रोनी (५ सिजन) लाई उछिन्दै छैटौं सिजन यो तथ्यांकमा पुगेको
|
सलाहले यो सिजन अर्को आकर्षक रेकर्ड पनि बनाउन सक्नेछन्, जसले उनलाई प्रिमियर लिगको सर्वाधिक गोलकर्ताको अवार्ड चारपल्ट जितेका आर्सनलका थिएरी हेनरीको दाँजोमा उभ्याउनेछ ।
उनले लिभरपुलसँगको सात सिजनमा प्रत्येक सिजन कम्तीमा १८ गोल गरेका छन् । थप ५ गोल गरेमा उनी प्रिमिर लिगमा पाँच सिजन २० भन्दा बढी गोल गर्ने पाँचौँ खेलाडी बन्नेछन् ।
उनको लगातार गोल गर्ने कला गत वर्षका गोल्डेन बुट विजेता हालान्डभन्दा पूरै फरक छ । नर्वेजियन खेलाडीले गत सिजन २७ गोल गरेका थिए भने त्यसअघि ३६ गोल गरेका थिए । त्यसक्रममा उनी ह्यारी केनपछि लगातार दुई सिजन सर्वाधिक गोलकर्ता भएका थिए । योपल्ट हालान्डले सुरुका ५ खेलमा १० गोल गर्दै फेरि त्यही क्रममा फर्किने संकेत गरेका थिए । तर, पछिल्ला १२ खेलमा ३ गोल मात्रै गरेपछि सलाहले अगाडि बढ्ने अवसर पाएका हुन् ।
सर्वकालीन महानकाे वरीयतामा कहाँ छन् सलाह ?
प्रिमियर लिगका केही महान् फरवार्डको चर्चा गरौं । सलाह लिभरपुल लेजेन्ड हुन् नै । उनले लिभरपुलसँग हरेक मुख्य प्रतियोगिताको उपाधि जितेका छन् ।
उनलाई ३ सय ७३ खेलमा २ सय २९ गोलले लिभरपुलका लागि सर्वकालीन गोलकर्ताको सूचीमा चौथो स्थानमा पुर्याएको छ । उनी तेस्रो स्थानमा रहेका गोर्डन हड्सनभन्दा १२ गोल पछाडि छन् । अझै अगाडि रहेका रोजर हन्टले २ सय ८५ गोल र इयान रशले ३ सय ४६ गोल गरेका छन् । अहिलेको प्रतिखेलको गोल औसतअनुसार सलाहलाई लिभरपुलको रेकर्ड तोड्न १ सय ९० खेल खेल्नुपर्ने देखिन्छ ।
प्रिमियर लिगमा पनि सलाह १ सय ७२ गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा आठौं स्थानमा छन् । उनी चौथो स्थानका एन्ड्रयु कोलभन्दा १५ गोल मात्रै पछाडि छन् । त्यसैले शीर्ष चारमा पुग्ने लक्ष्य यो सिजन असम्भव भने छैन ।
असिस्टको बारेमा ? सलाहले असिस्ट संख्यालाई ८० बनाउँदै दसौं स्थानमा रहेका डेविड वेक्हामको बराबरी गरेका छन् । दोस्रो स्थानका केभिन डे ब्रुयनीभन्दा ३४ असिस्टले पछाडि छन् । प्रिमियर लिग असिस्टमा सबभन्दा अगाडि रायन गिग्स (१६२) छन् । उनले सलाहको तुलनामा ३ सय ५३ खेल बढी खेलेका छन् ।
गोल र असिस्टलाई एकैसाथ हेर्ने हो भने सलाह अझै अगाडि छन् । उनी २ सय ५२ गोलमा संलग्न छन्, जसको लागि २ सय ७९ खेल खेलेका छन् । त्यसअनुसार उनी सर्वकालीन खेलाडीको सूचीमा सातौं स्थानमा छन् । औसतमा त उनी सबै खेलाडीलाई पछाडि परेका छन् ।
अहिलेको औसतमा सलाहले एलन सिएरर (३ सय २४ गोलमा योगदान) लाई भेटाउन सक्छन्, जसको लागि थप ६५ खेल खेल्नुपर्ने देखिन्छ । थप सम्झौता आवश्यक छ, जुन असम्भव पनि छैन ।