अस्ट्रेलिया। टुओम्बा खुकुरी कप २०२४ को उपाधि गुर्खा फुटबल क्लबले जितेको छ।
क्विन्सल्यान्डको टुवोम्बास्थित वोन्डर फुटबल क्लबको मैदानमा भएको रोमाञ्चक फाइनलमा गोल्डकोस्ट नेप्लिज फुटबल क्लबलाई ४-३ ले हराउँदै गुर्खाले उपाधि जितेको हो। गुर्खालाई च्याम्पियन बनाउन नेपालका राष्ट्रिय खेलाडी आशिष् लामाले निर्णायक प्रदर्शन गरे।
टुओम्बा नेप्लिज फुटबल क्लबको आयोजनामा भएको एक दिने प्रतियोगितामा आशिष् नै सर्वाधिक गोलकर्ता र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले ७ खेलमा १८ गोल गरेका थिए। आशिषसहित सुनिल बल, अञ्जन राई, अनिल महर्जन, अमिर श्रेष्ठ, कमल थापा, किशोर गिरी, बुद्धबल तामाङ, सुनिल महर्जनलगायतका राष्ट्रिय खेलाडीको पनि सहभागिता रहेको थियो।
सेभेन ए साइड भएको प्रतियोगितामा क्विन्सल्यान्डका विभिन्न २० टिमको सहभागिता रहेको थियो। जसमा विजेता गुर्खा फुटबल क्लबले उपाधि सहित ६ हजार अस्ट्रेलियन डलर, उपविजेता गोल्ड कोस्टले २ हजार डलर र तेस्रो स्थानको विजेता ब्रिसबेन नेप्लिज फुटबल क्लबले १ हजार डलर प्राप्त गरेका छन्।
एडब्लुटिआइ कलेजको मुख्य प्रायोजनमा टुओम्बा फुटबल क्लबले खुकुरी कपको लगातार तेस्रो सिजन सफलतापूर्वक आयोजना गरेको हो।
देशबाट टाढा रहे पनि नेपाली समुदायलाई जोडिराख्नेका लागि फुटबलको माध्यमबाट भाइचारा बढाउन र मनोरञ्जनका लागि प्रतियोगिताको आयोजना गरिएको आयोजक क्लबका मिडिया म्यानेजर धिरज दाहालले जानकारी दिए।