काठमाडौं। मार्क गुइउको पहिलो हाफको ह्याट्रिकको मद्दतले चेल्सीले बिहीबार शामरक रोभर्सलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै युइएफए कन्फरेन्स लिगको लिग चरण शतप्रतिशत जितको रेकर्डसहित समाप्त गर्यो।
१८ वर्षीय युवा फरवार्ड गुइउले यसअघि अस्तानामाथि ३–१ को जित निकाल्दा दुई गोल गरेका थिए। बिहीबारको खेलमा उनले २२औं मिनेटमा नजिकैबाट हेडर गोल गर्दै चेल्सीको लागि स्कोरको खाता खोल्न सफल भए।
रोभर्सका लागि मार्कस पुमले बराबरी गोल गरे पनि गुइउले ३४औं मिनेटमा अर्को गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। त्यसपछि किर्नान ड्यूसबरी–हलले ६ मिनेटपछि तेस्रो गोल थप्दै चेल्सीको लिड ३–१ पुर्याए। इन्जुरी समयको अन्तिम क्षणमा गुइउले अर्को हेडरमार्फत गोल गर्दै आफ्नो पहिलो ह्याट्रिक पूरा गरे।
‘मैले उनीजस्तो प्रेसरमा खेल्न सक्ने खेलाडी कहिल्यै देखेको छैन,’ हलले टीएनटी स्पोर्ट्ससँग गुइउको प्रशंसा गर्दै भने, ‘उनी अत्यन्त मिहिनती छन्।’ यसै समरमा बार्सिलोनाबाट चेल्सीमा आएका गुइउले प्रतियोगिताका ६ खेलमा ६ गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन्।
दोस्रो हाफमा मार्क कुकुरेलाले थप गोल गर्दै खेललाई ५–१ मा लगेर टुंग्याए। यो जितसँगै चेल्सीले सबै प्रतियोगितामा लगातार आठौं खेल जित्दै क्लबको डिसेम्बर २०१६ को रेकर्ड बराबर गर्यो।
युइएफए कन्फरेन्स लिगमा सहभागी ३६ क्लबमध्ये शीर्ष आठ टोली सिधै अन्तिम १६ मा पुग्नेछन्। नवौँदेखि २४औं स्थानसम्मका टोलीले फेब्रुअरीमा नकआउट प्लेअफ खेल्नेछन् भने पुछारका १२ टोली प्रतियोगिताबाट बाहिरिनेछन्। च्याम्पियन्स लिग र युरोपा लिगभन्दा फरक रूपमा कन्फरेन्स लिगको लिग चरणमा टोलीहरूले केवल छ खेल खेल्छन्।
चेल्सी यस सिजनको एक मात्र अपराजित टोली रह्यो। टोलीले एक खेल बाँकी छँदै अन्तिम १६ मा स्थान पक्का गरेको थियो। चेल्सीले ६ खेलमा २६ गोल गर्दै प्रतियोगिताको अहिलेसम्मकै उच्च स्कोरिङ टोली पनि बन्यो। शामरक रोभर्सले यो पराजयपछि पनि १०औं स्थानमा रहँदै युरोपेली प्रतियोगिताको नकआउट चरणमा पुग्ने पहिलो आयरिश क्लबको कीर्तिमान बनाएको छ।