काठमाडौं। ललित स्मृति एन्फा यु–१८ युथ लिगको उपाधि होड रोमाञ्चक मोडमा पुगेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा न्युरोड टिम (एनआरटी)ले मनाङ मर्स्याङदी क्लबलाई ३–० ले पराजित गर्दै शीर्ष स्थानको नेपाल पुलिस क्लबसँग अंक दूरी घटाउँदै एकमा झारेको छ।
यो जितपछि लिगको उपाधि होड थप रोमाञ्चक बनेको हो, जहाँ एनआरटीले पुलिस क्लबलाई कडा चुनौती दिने भएको छ। यस जितसँगै एनआरटी १९ खेलबाट ३८ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। पराजित मनाङ २५ अंकका साथ आठौं स्थानमा रहेको छ। एनआरटीलाई जित दिलाउन इशान शाह, अंकित थापा, र सन्तोष गोङ्बाले गोल गरे।
इशानले खेलको ४१औं मिनेटमा गोल गर्दै एनआरटीलाई अग्रता दिलाए। दोस्रो हाफमा ५३औं मिनेटमा अंकित थापाले टोलीको अग्रता दोब्बर बनाए। ७६औं मिनेटमा सन्तोष गोङ्बाले अर्को गोल थप्दै एनआरटीलाई सहज जित दिलाए।