काठमाडौं। विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेशका लागि गाबा मैदानमा भिडिरहेका भारत र अस्ट्रेलियाबीचको खेल बराबरीमा टुंगिएको छ।
पाँचौँ दिन अस्ट्रेलियाले दोस्रो इनिङ्स ८९/७ को स्थितिमा समाप्त गरेको घोषणा गर्दै भारतलाई २७५ रनको चुनौती दिएको थियो। भारतले ८/० को स्थितिमा जवाफी ब्याटिङ थालेको अवस्थामा वर्षाका कारण खेल अवरुद्ध भयो। केही समयपछि खेललाई बराबरीमा टुंग्याउने निर्णय गरियो। योसँगै
दुबै टोलीले एक-एक अंक बाँडेका छन्।
भारतले चौथो दिन नौ विकेट गुमाउँदै २५२ रन बनाएको थियो। केएल राहुल (८४) र रविन्द्र जडेजाको अर्धशतकको मद्दतले टोली फलोअनबाट बच्न सफल भयो। जसप्रित बुम्राह र आकाश दीपले महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई १९३ रनले पछि पर्न रोके। खराब प्रकाशका कारण खेल समयभन्दा पहिले नै रोक्ने निर्णय गरिएको थियो।
जडेजाले सातौं विकेटका लागि नितिशकुमार रेड्डीसँग ५३ रनको साझेदारी गरे। उनले ८९ बलमा ५४ औं टेस्ट अर्धशतक पूरा गरे। नितिशले १६ रन बनाउँदै केही समय साथ दिएका थिए, तर प्याट कमिन्सको बाउन्सरले उनलाई बोल्ड गर्यो।
अस्ट्रेलियाका ट्रेभिस हेड र स्टिभ स्मिथको शतकको मद्दतले दोस्रो दिन टोलीले पहिलो इनिङ्समा सात विकेटको क्षतिमा ४०५ रन बनाएको थियो। भारतीय बलर बुम्राहले उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेट लिएका थिए।
भारतले तेस्रो दिन आफ्नो पहिलो इनिङ्समा ५१ रन बनाउँदा चार विकेट गुमाएको थियो। केएल राहुलले केही समय इनिङ्स सम्हाल्दै ३३ रन बनाए। कप्तान रोहित शर्मा (१०) फेरि एकपटक असफल देखिए। अस्ट्रेलियाका बलर मिचेल स्टार्कले दुई विकेट लिए।