बसिस्टो र जयकिशनको अर्धशतक, चितवनलाई विशाल लक्ष्य

काठमाडौं। विलियम बसिस्टो र जयकिशन कोल्सावालाको अर्धशतकको मद्दतसँगै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) को इलिमिनेटरमा चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जित्दै चितवनले कर्णालीलाई ब्याटिङको निम्तो दिएको थियो। कर्णालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७५ रन बनायो।
तर, कर्णालीको सुरुआत भने निराशाजनक रह्यो। पावरप्ले भित्र नै दुई विकेट गुमाउँदै ४९ रनमात्र बनाउन सफल भयो। ओपनर ऋत गौतम खाता नै नखोली आउट भए भने तेस्रो नम्बरमा आएका जिशन मक्शूद १२ बलमा एक चौका र एक छक्कासहित १४ रन बनाएर रञ्जित कुमारबाट क्याच आउट भए।
कर्णाली दबाबमा परेको अवस्थामा जयकिश र बसिस्टोले तेस्रो विकेटका लागि ५९ रनको महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई खेलमा फर्काए। जयकिशनले ३९ बलमा ५३ रन बनाउँदै १२.४ ओभरमा शरद भेष्वाकरको बलमा क्याच आउट भए। उनको इनिङ्समा ६ चौका र २ छक्का प्रहार भए।
गुल्शनकुमार झा क्रिजमा आउनासाथ शून्य रनमा आउट भए पनि बसिस्टोले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै प्रतियोगिताको दोस्रो अर्धशतक पूरा गरे। उनले ३९ बलमा ३ चौका र २ छक्कासहित ५२ रन बनाए। बसिस्टो अन्तिमतिर सोहेल तनवीरको बलमा बोल्ड भए। तर, त्यसअघि उनले चाड्विक वाल्टनसँग ६७ रनको अर्को महत्त्वपूर्ण साझेदारी गरे।
वाल्टनले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अविजित ४६ रन बनाए, जबकि देव खनालले तीन रनको योगदान गरे। चितवनका बलरहरूमध्ये सोहेल तनवीरले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए। शरद भेष्वाकर, कुशल मल्ल, र रवी बोपाराले समान १/१ विकेट लिए।
चितवनले क्वालिफायर २ पुग्न १७६ रनको लक्ष्य पूरा गर्नुपर्नेछ।










-1763024272658.jpeg&w=3840&q=75)

-1762997834781.jpeg&w=3840&q=75)

