काठमाडौं। ब्राजिल तथा रियल म्याड्रिडका फरवार्ड भिनिसियस जुनियरले फिफा पुरुष खेलाडीको अवार्ड जितेका छन्।
भिनिसियसले रियललाई ला लिगा र च्याम्पियन्स लिगको उपाधि दिलाउन ३९ खेलमा २४ गोल गरेका थिए। उनले बोरुसिया डर्टमुण्डविरुद्धको च्याम्पियन्स लिग फाइनलमा पनि गोल गरेका थिए।
२४ वर्षीय भिनिसियसले यस अवार्डका लागि स्पेन र म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्री र रियल तथा इङ्ल्यान्ड मिडफिल्डर जुड बेलिङघामलाई पछि पारे। अक्टोबरमा रोड्रीसँग बालोन डि’ओर जित्न चुकेका भिनिसियस अवार्ड थाप्नका लागि दोहा पुगेका थिए, जहाँ रियलले बुधबार मेक्सिकोको पाचुकाविरुद्धको फिफा इन्टरकन्टिनेन्टल कप फाइनल खेल्ने कार्यक्रम छ।
‘साओ गोंकालोको गल्लीमा नाङ्गो खुट्टाले फुटबल खेल्दा यो सम्भवजस्तो लाग्दैनथ्यो। तर, अहिले यो अवार्ड जित्न पाएको छु,’ उनले भने।
स्पेन तथा बार्सिलोनाका मिडफिल्डर एइटाना बोनमाटीले भने लगातार दोस्रो वर्ष फिफा महिला खेलाडीको अवार्ड जितेकी छन्। उनले जाम्बियाकी बार्बरा बान्डा र नर्वेकी क्यारोलिन ग्राहाम ह्यान्सनलाई पछि पारिन्।