काठमाडौं। पाहुना टोली भारतको जिटिए दार्जिलिङलाई हराउँदै इटहरीको राष्ट्रिय जागृति क्लब विर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ। टाइब्रेकरमा दार्जिलिङलाई ४–२ गोलले हराउँदै जागृतिले अन्तिम चारको यात्रा तय गरेको हो।
टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे। जिटिएका आशिष देवान र प्रीतम राईले मात्र गोल गरेका थिए भने अंगद थापामगर र भाइचुङ राईको प्रहार गोलरक्षक नीरज चौधरीले बचाउ गरे।
१७औं मिनेटमा जागृतिका लागि प्रवेश बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाए। डिबक्समा अनमार्क रहेका बस्नेतले खमिर गिल्सन कन्दङवाको क्रस पासलाई सदुपयोग गर्दै गोल गरे। २०औं मिनेटमा डिफेन्डर निवास रानाको ह्यान्डबल भएको थियो। त्यसपछि जागृतिका मिलन राईले गरेको पेनाल्टी प्रहार जिटिएका गोलकिपरले बचाउ गर्दा अग्रता दोब्बर गर्ने अवसर गुमेको थियो।
२२औं मिनेटमा जिटिएले खेल बराबरी गर्यो। जिटिएका देवाशिष राईले मैदानको मध्यभागबाट दुईजना डिफेन्डरलाई विट गर्दै विपक्षी गोलपोस्टमा प्रहार गरेका थिए। गोलकिपरबाट रिबाउन्स भएको बललाई उनले गोलमा परिणत गरे।
६८औं मिनेटमा जागृति १० खेलाडीमा सीमित भयो। जागृतिका स्ट्राइकर मिलन राई विपक्षी गोलकिपर निगम सिंहलाई फाउल गरेपछि रेडकार्ड पाएर मैदानबाट बाहिरिए। जागृति त्यसपछि दबाबमा परेको थियो।
खेलको प्लेयर अफ द म्याच विजेता जागृतिका गोलरक्षक चौधरी भएका छन्। उनले १० हजार पुरस्कार पाए। बुधबारको तेस्रो क्वार्टरफाइनल खेल चर्च बोइज युनाइटेट र गोर्खा बोइज स्पोर्ट्स क्लब रुपन्देहीबीच हुने छ।