काठमाडौं। नाइजेरियाका फरवार्ड एडेमोला लुकम्यान ‘अफ्रिकी वर्ष खेलाडी’ घोषित भएका छन्।
लुकम्यानले गत मे महिनामा डबलिनमा भएको युरोपा लिगको फाइनलमा ह्याट्रिक गर्दै आफ्नो क्लब इटालियन एटलान्टालाई बायर लेभरकुसेनविरुद्ध जित दिलाएका थिए। साथै यस वर्षको सुरुआतमा नाइजेरियालाई अफ्रिका कप अफ नेसन्सको फाइनलसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। प्रतियोगितामा उनले तीन गोल गरेका थिए।
इङ्ल्यान्डको लन्डनमा जन्मेका लुकम्यानले प्रिमियर लिगमा एभर्टन, फुलह्याम र लेस्टर सिटीबाट खेलेका थिए। सन् २०२२ मा उनले इटालियन सिरी ए क्लब एटलान्टामा आवद्ध हुँदै उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले गत सिजन एटलान्टाका लागि १७ गोल गरेका थिए।
अवार्ड जितेपछि लुकम्यानले भने, ‘यो अवार्ड एक वरदान हो। अफ्रिकाको उत्कृष्ट खेलाडीको रूपमा मान्यता पाउनु अविश्वसनीय कुरा हो। चार वर्षअघि मेरो करियर कमजोर अवस्थामा थियो, तर आज म यहाँ छु। आफ्ना असफलताले तपाईको सपनालाई रोक्न नदिनुहोस्।’
लुकम्यानले यस अवार्डका लागि मोरक्कोका अच्राफ हाकिमी, गिनीका सेरहाउ गुइरासी, आइभोरी कोस्टका सिमोन एडिंग्रा र दक्षिण अफ्रिकाका गोलकिपर रोनवेन विलियम्सलाई पछि पारेका थिए। यो अवार्ड राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तानहरू सम्मिलित प्यानलले मतदानमार्फत चयन गरेको हो।
लुकम्यान यो अवार्ड जित्ने सातौं नाइजेरियाली खेलाडी हुन्। उनले गत वर्षको विजेता भिक्टर इक्पेबाको स्थान लिएका छन्। यसअघि नाइजेरियाका नवान्को कानु (दुई पटक), इमानुएल अमुनिके, भिक्टर इक्पेबा र रसिदी येकिनीले यो अवार्ड जितेका थिए।
जाम्बियाकी बार्ब्रा बान्दालाई अफ्रिकी महिला वर्ष खेलाडी घोषित गरिएको छ। २४ वर्षीया बान्डाले आफ्नो क्लब ओर्लान्डो प्राइडलाई पहिलो एनडब्लुएसएल च्याम्पियनसिप उपाधि जिताउन महत्त्वपूर्ण योगदान दिएकी थिइन्। उनले कान्सास सिटीविरुद्ध निर्णायक गोल गर्दै क्लबको जित सुनिश्चित गरेकी थिइन्।
बान्डा जाम्बियाको टोलीमा समावेश हुँदै दुई वर्षअघि महिला अफ्रिका कप अफ नेसन्सको फाइनलमा पुगेकी थिइन्। साथै फिफाले उनलाई सन् २०२३ को महिला विश्वकपमा भाग लिन अनुमति दिएको थियो।