काठमाडौं। सन् २०२५ मा स्विट्जरल्यान्डमा हुने महिला युरोपियन च्याम्पियनसिपको पुरस्कार राशि दोब्बरभन्दा बढी हुने भएको छ। प्रतियोगितामा सहभागी १६ टिमले कुल ४१ मिलियन युरो (४३ मिलियन अमेरिकी डलर) बाँड्नेछन्।
युइएफएको कार्यकारी समितिले सोमबार निर्णय गर्दै प्रत्येक महासंघलाई प्रतियोगितामा सहभागिताको लागि न्यूनतम १.८ मिलियन युरो (१.९ मिलियन अमेरिकी डलर) दिने बताएको छ। साथै यस रकमको कम्तीमा ३० प्रतिशत हिस्सा खेलाडीहरूबीच बाँड्नुपर्नेछ।
प्रतियोगिताका विजेताले कुल ५.१ मिलियन युरो जित्न सक्छन्।
यस प्रतियोगितामा खेल्ने क्लबका खेलाडीहरूको लागि ६ मिलियन युरो (६.३ मिलियन अमेरिकी डलर) वितरण गरिनेछ। प्रतिखेलाडीको लागि दैनिक दर ६५७ युरो (६९० अमेरिकी डलर) हुनेछ। यो रकम अघिल्लो महिला युरो कपसँग तुलना गर्दा ३३ प्रतिशतले वृद्धि भएको हो।
पुरुष युरो कप २०२४ मा कुल पुरस्कार रकम ३३१ मिलियन युरो (३४७ मिलियन अमेरिकी डलर) थियो, जसले करिब २.४ बिलियन युरो (२.५ बिलियन अमेरिकी डलर) राजस्व उत्पन्न गरेको थियो।
प्रतियोगितामा सहभागी २४ टिमले न्यूनतम ९.२५ मिलियन युरो प्राप्त गरे भने विजेता स्पेनले २८.२५ मिलियन युरो जितेको थियो।