काठमाडौं। इटालियन सिरी ‘ए’ अन्तर्गत सोमबार राति भएको खेलमा इन्टर मिलानले लाजियोलाई ६–० को भारी अन्तरले पराजित गरेको छ।
घरेलु मैदान स्टेडियो ओलम्पिकोमा लाजियोले पहिलो हाफमा इन्टरलाई बराबरीमा रोकेको थियो। तर, दोस्रो हाफमा इन्टरको आक्रमणसामु लाजियो कमजोर सावित भयो।
खेलको सुरुआतमा लाजियो नियमित डिफेन्डर एलेसियो रोमाग्नोलीबिना मैदानमा उत्रिएको थियो। थप समस्या तब देखियो जब स्यामुएल गिगोटले पहिलो हाफको मध्यतिर माटियास गिलालाई स्थान दिएका थिए। पहिलो हाफपछि गिगोटको स्थानापन्नले प्रशिक्षक मार्को बारोनीलाई फेरि रक्षापंक्ति फेरबदल गर्न बाध्य बनायो, जसको फाइदा इन्टरले भरपुर उठायो।
४९औं मिनेटमा हाकान कालहानोग्लुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। त्यसको केही समयपछि फेडेरिको डिमार्कोले डेन्जेल डम्फ्रीजको क्रसमा गोल गर्दै अन्तर २–० बनाए।
दोस्रो हाफमा इन्टरको आक्रमण अझ तीव्र भयो। ५१औं मिनेटमा निकोलो बरेलाले इन्टरका लागि तेस्रो गोल थपे। त्यसको दुई मिनेटपछि डम्फ्रीज स्वयंले गोल गर्दै इन्टरलाई ४–० को अग्रता दिलाए।
खेलको ७७औं मिनेटमा कार्लोस अगस्टोले उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्दै पाँचौं गोल थपे। मार्कस थुरामले ९०औं मिनेटमा गोल गर्दै सिजनको आफ्नो ११औं गोल पूरा गरे र इन्टरलाई ६–० को रोमाञ्चक जित दिलाए।
यस सानदार जितसँगै इन्टर तेस्रो स्थानमा उक्लिएको छ। इन्टर अहिले एटलान्टाभन्दा तीन अंकले पछि र नेपोलीभन्दा एक अंकले पछाडि छ। यस हारसँगै लाजियो भने पाँचौं स्थानमा सीमित छ।
इन्टरको यो जितले लिगमा शीर्ष स्थानको होडमा थप चासो थपेको छ भने लाजियोका लागि घरेलु मैदानमा यो हार दुःखद सावित भएको छ।