काठमाडौं। यु–१९ एसिया कपको सुपर फोरमा पुगिसकेको नेपालले मंगलबार भारतको सामना गर्दैछ। मलेसियाको बायुमास ओभलमा हुने खेल बिहान ११:४५ बजेबाट सुरु हुने छ।
यही खेलले समूह ‘बी’ को विजेता टुंगो लाग्नेछ। नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोट च्याम्पियनका हैसियतमा एसिया कपमा स्थान बनाएको हो। समूह ‘बी’ को पहिलो खेलमा नेपालले पूजा महतोको कप्तानी इनिङ्ससँगै पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो।
पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो। लगातारको दोस्रो हारसहित पाकिस्तानले पाँचौं स्थानका लागि खेल्ने भएको छ। पाकिस्तान पहिलो खेलमा भारतसँग नौ विकेटले पराजित भएको थियो।
पालले सुरुआत भने राम्रो गर्न सकेको थिएन। २३ रन बनाउँदा नै ओपनर सावित्री धामीलाई फतिमा खानले बोल्ड गरेकी थिइन्। उनले आठ रन मात्रै जोडिन्। नेपालको स्कोर बोर्डमा थप चार रन जोडिँदा अर्की ओपनर साना प्रभिन पनि फतिमाबाटै १० रनमा रनआउट भइन्।
तर, तेस्रो नम्बरमा आएकी पूजाले अविजित ४७ रन बनाउँदै नेपालको जित पक्का गरिन्। ४७ बल नै खेलेकी उनले तीन चौका प्रहार गरिन्। उनले तेस्रो विकेटका लागि उपकप्तान सोनी पाख्रिनसँग ३१ रनको साझेदारी गरेकी थिइन्। १३ रन बनाएकी सोनी कोमल खानबाट रन आउट भइन्।
यस्तै, जोत्सनिका मरासिनीले खाता खोल्न सकिनन्। तर, पूजाले सिमना केसीसँग पुन: ३९ रनको साझेदारी गर्दै जित पक्का गरिन्। सिमना १२ बल खेल्दै १२ रनमा अविजित रहिन्।