काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ सम्भावना बलियो बनाउन जित्नै पर्ने खेलमा काठमाडौं गुर्खाजले ११८ रनको लक्ष्य पाएको छ।
कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको विराटनगर किङ्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ११७ रन बनाएको हो।
विराटनगरका कुनै पनि ब्याटरले ठूलो इनिङ्स खेल्न सकेनन्। ओपनर लोकेश बमलाई विराटनगरले तेस्रो ओभरको चौथो बलमै आठ रनमा गुमाएको थियो। उनी डन डाउथवेटबाट एलबिडब्यु आउट भए। १२ रन जोडेका निकोलस किर्टन पनि रन आउट भएपछि काठमाडौंले पहिलो पावर प्लेमा दुई विकेटको क्षतिमा ४५ रन बनाएको थियो।
त्यसपछि पनि विराटनगरले विकेट गुमाउने क्रम जारी राख्यो। अर्का ओपनर दिपक बोहरालाई दिपेश कँडेलले २० रनमा एलबिडब्यु आउट गरे। स्कट एडवार्ड्स १५, इस्मत अलाम पाँच, बसिर अहमद १३, क्रिस सोल एक र कप्तान सन्दीप लामिछाने शून्यमै पभिलियन फर्किए।
तर, मध्यक्रमका राजेश पुलामीले २१ बलमा २५ रनको इनिङ्स खेल्दै विराटनगरलाई सम्मानजनक स्थितिमा पुर्याए।काठमाडौंका ग्रेहार्ड इरास्मसले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले १७ रन खर्चिए। दिपेशले दुई विकेट लिँदा शाहब आलम, करण केसी र डन डाउथवेटको नाममा समान एक विकेट रह्यो।