काठमाडौं। एलए ग्यालेक्सीले कीर्तिमान नवौंपल्ट मेजर लिग सकर (एमएलएस) कपको उपाधि जितेको छ। उसले डिग्निटी हेल्थ स्पोर्ट्स पार्कमा भएको फाइनलमा न्युयोर्क रेडबुल्सलाई २–१ ले पराजित गर्दै उपाधि जितेको हो।
अमेरिकी फुटबल सिजनको अन्तिम खेलको रूपमा रहेको एमएलएस कपलाई निक्कै आकर्षक मानिन्छ, जसमा इस्टर्न कन्फ्रेन्स र वेस्टर्न कन्फ्रेन्सका टिमले एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्दछन्। अमेरिकाको सबभन्दा ठूला दुई सहर लस एन्जलस र न्युयोर्कका टिमवीच एमएलएस कपको फाइनल भएको पनि यसैपालि हो।
फाइनलको सुरुआती आधा घन्टाभित्रै तीन गोल सम्भव भयो। इस्टर्न कन्फ्रेन्सको नियमित सिजनमा सातौं स्थानमा रहेको रेडबुल्स एमएलएस कपको फाइनल पुग्ने सबभन्दा तल्लो वरीयताको टिम हो। तर, अन्त्यमा आएर २९ औं एमएलएस कपको फाइनलमा सुरुमै ग्यालेक्सी हाबी भएको थियो।
ग्यालेक्सीले जोसेफ पेन्सिलको गोलमा नवौं मिनेटमै अग्रता लियो। डेजान जोभेलिकले १३ औं मिनेटमै अग्रता दोब्बर बनाए। दुवै गोलकर्ताले एसीएल इन्ज्युरी भएका बार्सिलोनाका पूर्वखेलाडी रिकी पिकको जर्सी देखाउँदै गोलको खुसीयाली मनाएका थिए।
रेडबुल्सका डिफेन्डर सिन निलिसले २८ औं मिनेटमा एक गोल गर्दै ग्यालेक्सीलाई चुनौती तेस्र्याएपनि फाइनल उल्टाउन सकेन। दुवै टिमले दोस्रो हाफमा प्रहार गरेको बल गोल पोस्टमा लागेको थियो। ग्यालेक्सीले सन् २०१४ यता पहिलोपल्ट एमएलएस कपको उपाधि कब्जा गरेको हो।