लुम्बिनीको तेस्रो हार, फेरि जित्यो सुदूरपश्चिम

काठमाडौं। ब्याटिङ र बलिङ दुवैमा फ्लप हुँदा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो हार बेहोरेको छ। शनिबार भएको खेलमा सुदूरपश्चिम रोयल्ससँग लुम्बिनी ४५ रनले पराजित भएको हो। सुदूरपश्चिमको भने यो लगातार तेस्रो जित हो।
सुदूरपश्चिमले यसअघि विराटनगर किङ्सलाई ९० र काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित गरेको थियो। लगातार दुई हारपछि लुम्बिनीलाई प्लेअफ सम्भावना जीवित राख्न यो खेल जित्नैपर्ने दबाबमा थियो। पहिलो खेलमा विराटनगर किङ्ससँग दुई विकेटको झिनो हार र दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटको एकतर्फी पराजयले टोलीलाई कठिन अवस्थामा थियो।
तर, सुदूरपश्चिमविरुद्ध लुम्बिनीले चमत्कारी खेल देखाउन सकेन। १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले पहिलो पावर प्लेमै पाँच विकेट गुमाएको थियो।
ओपनर अर्जुन साउद र मध्यक्रमका साद बिन जाफरले खाता खोल्न सकेनन्। अर्का ओपनर उन्मुक्त चन्द चार, कप्तान रोहितकुमार पौडेल पाँच र टम मुर्स सात रनमा आउट भएपछि लुम्बिनी दबाबमा परेको थियो।
यद्यपि, सातौं नम्बरमा आएका विवेककुमार यादवले अविजित ७७ रनको इनिङ्स खेले। ५४ बल खेलेका उनले तीन चौका र सात छक्का प्रहार गरे पनि त्यो जितका लागि पर्याप्त हुन सके। सन्दीप जोरा २० र दिनेश अधिकारी १४ रनमा आउट हुँदा अन्यको ब्याट चल्न सकेन।
सुदूरपश्चिमका ब्रान्डन म्याकमुलन र सैफ जैबले समान तीन विकेट लिए। स्कट कुग्गेलिजनले दुई र अविनाश बोहराको नाममा एक विकेट रह्यो।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८७ रन बनायो।
ओपनरद्वय सैफ र विनोद भण्डारीले सुदूरपश्चिमलाई राम्रो सुरुआत दिलाएका थिए। उनीहरूबीच पहिलो विकेटका लागि ४९ रनको साझेदारी भयो। १३ बलमा दुई चौकासहित १७ रन बनाएर खेलिरहेका विनोद आउट भए पनि सैफले रनको गति भने बढाउँदै लगे। उनले तेस्रो नम्बरमा आएका ब्रान्डन म्याकमुलनसँग ५७ रनको अर्को साझेदारी गरे।
ब्रान्डन २३ रनमा आउट भए। त्यसपछि कप्तान दीपेन्द्रसिंह ऐरीसँग ५३ रनको साझेदारी गर्दै उनले आफ्नो खातमा ९० र सुदूरपश्चिमको स्कोर बोर्डमा १७.४ ओभरमा ३-१५९ रन पुर्याए। ६१ बलमा ६ चौका र पाँच छक्का प्रहार गरेका उनलाई रोमन साइमन्ड्सले उन्मुक्त चन्दबाट क्याच आउट गराए।
उनले नै आसिफ शेखलाई शून्य रनमा आउट बनाएका थिए। १९ बलमा चार चौका र दुई छक्कासहित ३९ रन प्रहार दीपेन्द्र अविजित रहे। स्कट कुग्गेलिजन पनि ११ रनमा अविजित रहे। लुम्बिनीका रोमनले सर्वाधिक दुई विकेट लिए। रोहितकुमार पौडेल र विवेक यादवको नाममा समान एक विकेट रह्यो।














