फिक्कल । दोश्रो इलाम गोल्डकप आज शनिबारबाट सुरु हुँदैछ । उद्धघाटन खेलमा आयोजक रेडहर्स फुटबल क्लब र संकटा एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।
दुवै टोली पहिलो पटक भिड्न लागेका हुन् । संकटा इलाम गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको हो ।
घरेलु टिमले यसअघि पहिलो संस्करणको सेमिफाइनल खेलेको थियो । रेडहर्सले तीन जना खेलाडी बाहिरबाट ल्याएको छ ।
आयोजक क्लब भारतको दार्जिलिङमा संचालित गार्लाङ गोल्डकपको सेमिफाइनल पुगेको कारण बाहिरबाट खेलाडी ल्याउनुपरेको जनाएको छ ।
संकटा क्लब ए डिभिजनका खेलाडीहरु सहित मैदान उत्रदैछ । क्लबमा राष्ट्रिय टोलीबाट सहभागि खेलाडीहरु यस पटक इलामको मैदानमा हुने छैनन् ।
क्लबका टिम म्यानेजर राजुमान तुलाधरले राष्ट्रिय खेलाडी नभएपनि ए डिभिजनका खेलाडीहरुले सुखद नतिजा निकाल्नेमा आशावादी भएको बताए ।
इलामको ठूलो टुँडिखेलमा मंसिर २९ गतेसम्म संचानल हुने प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन एनआरटी, संकटा क्लब, त्रिभुवन आर्मी, चर्च ब्वाइज, झापाको रेड स्टार, मच्छिन्द्र, भारत दार्जिलिङको जिटिए र आयोजक रेड हर्स सहभागी छन् ।
विजेताले उपाधिसहित नगद १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन । विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई नगद सहित पुरस्कृत गरिने छ । प्रत्येक दिनका उत्कृष्ट खेलाडीलाई आठ हजार एक सय रुपैयाँ नगद पुरस्कार दिइने छ ।
खेलाडीको सुरक्षाका लागि प्रत्येक खेलाडीको पाँच लाख रुपैयाँको बिमा नेको एन्स्योरेन्सले गरेको छ । ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई निःशुल्क प्रवेश दिइने छ भने प्रत्येक खेलका लागि जनही सय रुपैयाँको टिकट व्यवस्था गरिएको छ ।
सेमिफाइनलमा जनही दुई सय र फाइनलमा तीन सय रुपैयाँ टिकट दर कायम गरिएको छ ।