पहिलो जितको खोजीमा लुम्बिनी, अपराजित यात्रालाई जारी राख्ने दाउमा सुदूरपश्चिम

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा शनिबार रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्स र दीपेन्द्रसिंह ऐरिको नेतृत्वको सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ।
लुम्बिनी लायन्सका लागि यो खेल निकै महत्त्वपूर्ण छ। यो त्यही टोली हो जो लिगमा जितविहीन छ। लगातार दुई हारपछि लुम्बिनीले प्लेअफ सम्भावना जीवित राख्न यो खेल जित्नैपर्ने दबाबमा छ। पहिलो खेलमा विराटनगर किङ्ससँग दुई विकेटको झिनो हार र दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटको एकतर्फी पराजयले टोलीलाई कठिन अवस्थामा पुर्याएको छ।
अर्कोतर्फ, सुदूरपश्चिम रोयल्सले आफ्नो बलियो प्रदर्शनलाई निरन्तरता दिन चाहन्छ। दुबै खेलमा एकतर्फी जित निकाल्दै रोयल्स अपराजित छ। पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगरलाई ९० रनले हराएको थियो। दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले अपराजित यात्रालाई कायम राखेको थियो।
शनिबारको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्स आमनेसामने हुनेछन्। यी दुई खेलले लिगको अंक तालिकामा ठूलो प्रभाव पार्नेछ।
















