शतकबाट चुके रोहित, पोखरालाई विशाल लक्ष्य

काठमाडौं। कप्तान रोहितकुमार पौडेलको कीर्तिमानी रनसँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सलाई विशाल लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा रोहितले नै टस जितेर पहिला ब्याटिङको निर्णय लिएका थिए। तर, पहिलो पावर प्लेमा यो निर्णय धातक सावित भएको देखिएको थियो। ओपनरद्वय आशुतोष धिरौया र उन्मुक्त चन्द खाता नै नखोलि पभिलियन फर्किए। तर, तेस्रो नम्बरमा आफैं उत्रिएका रोहितले कप्तानी इनिङ्स खेल्दै लुम्बिनीलाई निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १७० को स्कोरसम्म पुर्याएका हुन्। योसँगै पोखराले १७१ रनको विशाल लक्ष्य पाएको छ।
५९ बल खेलेका रोहितले १० चौका र चार छक्कासहित ९५ रनको इनिङ्स खेले। यो एनिएलमा कुनै पनि ब्याटरले एकै इनिङ्समा बनाएको सबैभन्दा धेरै रन हो। यसअघि जनकपुर बोल्ड्सका लाहिरू मिलन्थाले तेस्रो नम्बरमा उत्रिँदै विराटनगर किङ्सविरुद्ध ७५ रन बनाएका थिए। उक्त कीर्तिमान रोहितले तोडेका हुन्।
रोहितले चौथो विकेटका लागि टम मुर्ससँग ११० रनको कीर्तिमानी साझेदारी गरे। उनी पनि अर्धशतक बनाउन पाँच रनले चुके। ३८ बल खेलेका उनले दुई चौका र दुई छक्कासहित ४५ रन बनाए। सन्दीप जोरा १८ रनमा आउट हुँदा विवेककुमार यादव दुई रनमा अविजित रहे।
पोखराका विपिन खत्रीले सर्वाधिक दुई विकेट लिए। तीन ओभर बलिङ गरेका उनले १८ रन खर्चिए। म्याट क्रिचलीको नाममा एक विकेट रह्यो।
















