रोमाञ्चक खेलमा कर्णालीको पहिलो जित, हार्यो चितवन
-1733467598.jpeg&w=3840&q=75)
काठमाडौं। अन्तिम बल अगाडि नै चौका प्रहार गर्दै जिशन मक्शूदले कर्णाली याक्सलाई नेपाल प्रिमियर लिग (एनपिएल)मा पहिलो जित दिलाएका छन्। शुक्रबार भएको खेलमा कर्णालीले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो।
चितवनले दिएको १३१ रनको लक्ष्य पछ्याएको कर्णालीले एक बल बाँकी रहँदै चार विकेट गुमाएर १३२ रन बनाएको हो। अन्तिम ओभरमा कर्णालीलाई जितका लागि नौ रन चाहिएको थियो। रिजन ढकालले सुरुआती तीन बलमा समान दुई रन दिएपछि खेल झन रोमाञ्चक मोडमा पुग्यो। तीन बलमा तीन रन चाहिएको अवस्थामा विकेटकिपर विपिन रावल र रिजनले अर्जुन घर्तीलाई रन आउट गराए।
सोही रन आउटबाट कर्णालीको समीकरण बद्लिएको हो। ओमानका कप्तानसमेत रहेका मक्शूदले कुनै दबाब महसुस नगरी चौका प्रहार गरेसँगै चितवन स्तब्ध हुन पुग्यो।
जितसँगै कर्णालीले पहिलो दुई अंक जोडेको छ। तीन खेल खेलेको कर्णाली यसअघि जनकपुर बोल्ड्ससँग आठ र काठमाडौं गुर्खाजसँग तीन विकेटले पराजित भएको थियो। चितवनको भने अपराजित यात्रा यही पूर्णविराम लागेको छ।
चितवनले यसअघि काठमाडौंलाई पाँच विकेट र पोखरा एभेन्जर्सलाई ८७ रनले हराउँदै विजयी यात्रा कायम गरेको थियो। चितवन अंक तालिकाको तेस्रो र कर्णाली चौथो स्थानमा छ। कर्णालीले यसपल्ट राम्रो सुरुआत गरेको थियो। ओपनर देव खनाल र शेखर धवनबीच पहिलो विकेटका लागि ५३ रनको साझेदारी भएको थियो। तर, देव १०औं ओभरको अन्तिम बलमा चितवनका कप्तान कुशल मल्लबाट २५ रनमा एलबिडब्यु आउट भए।
यद्यपि, धवनले चाड्विक वाल्टनसँग ५१ रनको अर्को विशाल साझेदारी गर्दै कर्णालीलाई जितनजिक पुर्याए। धवन लगातार अर्धशतक प्रहार गर्नबाट पाँच रनले चुके। ४१ बल खेलेका उनले चार चौका र एक छक्कासहित ४५ रन बनाए।
वाल्टने ३० र अर्जुनले ११ रन बनाउँदा मक्शूद १२ रनमा अविजित रहे। यसपल्ट चितवनका सोहेल तन्वीर भने चल्न सकेनन्। दुई खेलमै आठ विकेट लिएर तहल्का मच्चाएका उनले यसपल्ट चार ओभर बलिङ गर्दै १८ रन खर्चिए। कुशल, जान निकोल लोफ्टी इटन र रवी भोपाराको नाममा समान एक विकेट रह्यो।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले टस जितेर पहिला फिल्डिङ रोजेको थियो। तर, बिहानको समयमा चितवनलाई पहिला ब्याटिङ गर्न असहज देखियो। चितवनले पहिलो पावर प्लेमै तीन विकेट गुमाएको थियो। ओपनर लुका बेन्केनस्टाइन पाँच बल खेल्दै रन नजोडी पभिलियन फर्किए।
उनलाई कप्तान सोमपाल कामीले बोल्ड गरेका हुन्। यस्तै, चौथो ओभरको पाँचौं बलमा अर्का ओपनर दीपक बोहरालाई पनि विवेक यादवले देवबाट आठ रनमै क्याच आउट गराए। लगातार विकेट गुमाएर सम्हालिन नपाउँदै चितवनले विपिन रावल पनि ११ रन जोड्दै पभिलियनतर्फ फर्किए। १५ बल खेलेका उनले एक चौकासहित ११ रन बनाए।
लगातार विकेट गुमाइरहेको अवस्थामा रवीले अर्धशतकीय इनिङ्स खेल्दै चितवनलाई सम्मानजनक स्थितिमा पुर्याएका हुन्। ४० बल खेलेका उनले सात चौका र एक छक्कासहित अविजित रहँदै ५९ रनको योगदान दिए। योसँगै चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३० रन बनायो।
रवीबाहेक कप्तान कुशलले २३ रनको योगदान दिएपनि अन्य खेलाडीले खुलेर खेल्न सकेनन्। कर्णालीका विपिन शर्माले सर्वाधिक तीन विकेट लिए। उनले चार ओभरमा २१ रन खर्चिए। मक्शूदले दुई र सोमपाल तथा नन्दन यादवले समान एक विकेट लिए।
















