रवीको अर्धशतकसँगै कर्णालीलाई सम्मानजनक लक्ष्य

काठमाडौं। चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले टस जितेर पहिला फिल्डिङ रोजेको थियो। तर, बिहानको समयमा चितवनलाई पहिला ब्याटिङ गर्न असहज देखियो। चितवनले पहिलो पावर प्लेमै तीन विकेट गुमाएको थियो। ओपनर लुका बेन्केनस्टाइन पाँच बल खेल्दै रन नजोडी पभिलियन फर्किए।
उनलाई कप्तान सोमपाल कामीले बोल्ड गरेका हुन्। यस्तै, चौथो ओभरको पाँचौं बलमा अर्का ओपनर दीपक बोहरालाई पनि विवेक यादवले देव खनालबाट आठ रनमै क्याच आउट गराए। लगातार विकेट गुमाएर सम्हालिन नपाउँदै चितवनले विपिन रावल पनि ११ रन जोड्दै पभिलियनतर्फ फर्किए। १५ बल खेलेका उनले एक चौकासहित ११ रन बनाए।
लगातार विकेट गुमाइरहेको अवस्थामा रवी भोपाराले अर्धशतकीय इनिङ्स खेल्दै चितवनलाई सम्मानजनक स्थितिमा पुर्याएका हुन्। ४० बल खेलेका उनले सात चौका र एक छक्कासहित अविजित रहँदै ५९ रनको योगदान दिए। योसँगै चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३० रन बनाएको हो।
रवीबाहेक कप्तान कुशल मल्लले २३ रनको योगदान दिएपनि अन्य खेलाडीले खुलेर खेल्न सकेनन्। कर्णालीका विपिन शर्माले सर्वाधिक तीन विकेट लिए। उनले चार ओभरमा २१ रन खर्चिए। जिशन मक्शूदले दुई र सोमपाल कामी तथा नन्दन यादवले समान एक विकेट लिए।
















