पहिलो जितको खोजीमा लुम्बिनी र पोखरा
-1733452465.png&w=3840&q=75)
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। दुवै टोली पहिलो जितको खोजीमा रहेका छन्।
दिउँसो १ बजे सुरु हुने खेलले दुवै टोलीको अभियानलाई नयाँ दिशा दिनेछ। लगातार हार बेहोरेको पोखरा र लुम्बिनीमध्ये कसले आफ्नो जितको खाता खोल्ने हो भन्ने प्रतीक्षा हुनेछ। मैदानमा दुवै टोलीको प्रदर्शन र रणनीतिमा धेरै निर्भर हुनेछ।
रोहितकुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स आफ्नो दोस्रो खेल खेल्दै छ। पहिलो खेलमा विराटनगर किङ्सविरुद्ध प्रतियोगिताकै कीर्तिमानी लक्ष्य प्रस्तुत गरे पनि लुम्बिनी अन्तिम ओभरमा चुक्न पुगेको थियो। अन्तिम ओभरमा विराटनगरलाई १५ रन चाहिएको अवस्थामा विवेक यादवले गतिलो प्रदर्शन देखाउन नसक्दा क्रिस सोलले विराटनगरलाई पहिलो जित दिलाएका थिए।
सुरुआती दुई बल ह्वाइड फ्याँकेका विवेकले त्यसपछि कप्तान सन्दीप लामिछानेको विकेट लिएका थिए। दोस्रो बल डट राख्दै पुनरागमन गर्ने प्रयास गरे पनि सोलको अगाडि उनी निरीह भए। उनले तेस्रो बलमा छक्का दिएसँगै विराटनगर खेलमा फर्किएको थियो। त्यसपछि लगातार दुई बल चौका दिँदा लुम्बिनी पहिलो खेलमै दुई विकेटको हार बेहोर्न बाध्य भयो।
अर्कोतर्फ पोखरा एभेन्जर्स आफ्नो तेस्रो खेल खेल्दै छ। कुशल भुर्तेलको कप्तानीमा रहेको टोली चितवन राइनोजसँग ८७ रन र जनकपुर बोल्ट्ससँग सात विकेटले पराजित भएपछि आज जितको खोजीमा हुनेछ। लगातार ओपनिङ पार्टनर परिवर्तन गरे पनि पोखराले राम्रो सुरुआत गर्न सकेको छैन।
चितवनविरुद्ध सात रन बनाउँदा नै ६ विकेट गुमाउँदा कप्तान कुशल शून्यमै पेभिलियन फर्किएका थिए। दोस्रो खेलमा उनले दिनेश खरेल र आन्द्रे गौसलाई ओपनिङमा पठाएपनि उनीहरूले राम्रो सुरुआत दिन सकेन। पोखरा ओपनिङमा राम्रो सुरुआत गर्दै पहिलो जित दर्ता गर्ने लक्ष्यमा हुनेछ।
















